
पोखरा स्पोर्ट्स । पोखरा उद्योग बाणिज्य संघले पोखरा रंगशालामा खेलाडी तथा आगन्तुकका लागि शुद्ध पिउने पानीको व्यवस्था गर्न अत्याधुनिक पानी ट्याङ्की (फिल्टर मेसिन) जिल्ला खेलकुद विकास समिति कास्कीलाई हस्तान्तरण गरेको छ । संघको ७२औं स्थापना दिवसको अवसर पारेर उक्त सहयोग प्रदान गरिएको हो ।

हस्तान्तरण कार्यक्रम नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै उनले सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यस पुण्यकार्यको प्रशंसा गर्दै खेल क्षेत्रको विकासमा निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए ।
संघका अध्यक्ष गोकर्ण कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले ७२औं स्थापना दिवसको अवसरमा खेल क्षेत्रलाई सहयोग गर्न पाउँदा गौरव महसुस भएको बताए। साथै उनले व्यक्तिगत रुपमा पाँच थान फलामे कुर्चीसमेत प्रदान गरेको जानकारी दिए ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले सहयोगका लागि आभार व्यक्त गर्दै यसले खेलाडीलाई प्रत्यक्ष लाभ पुग्ने बताउँदै आगामी दिनमा समेत सहकार्यका लागि आग्रह गरे ।
संघकी महासचिव शोभा गौतम, उपाध्यक्ष बलराम आचार्यलगायतले सो कार्यक्रममा आफ्ना भनाई राखेका थिए ।
कस्तो छ मेसिन?
करिव १ लाख ५० हजार लागतको हस्तान्तरण गरिएको पानी फिल्टर मेसिन बहुस्तरीय शुद्धिकरण प्रणालीयुक्त रहेको जनाइएको छ । यसमा सेडिमेन्ट फिल्टर, कार्बन फिल्टर र यूभी प्रणाली जडान गरिएको छ, जसले पानीलाई जीवाणुरहित, सुरक्षित र पिउन योग्य बनाउनेछ । तातो र चिसो पानी पिउन मिल्ने मेसिनबाट दैनिक ठूलो संख्यामा खेलाडी तथा दर्शकले स्वच्छ पानी उपभोग गर्न सक्ने बताइएको छ ।
यस सहयोगले पोखरा रंगशालामा हुने विभिन्न खेल प्रतियोगितामा सहभागी खेलाडी र आगन्तुकलाई सहजता प्रदान गर्ने विश्वास गरिएको छ ।