
पोखरा स्पोर्ट्स/ तस्विरः सुदर्शन रञ्जित। २५औँ आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक टोली सहारा क्लब पोखराले जितेको छ । शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा सहाराले बलियो प्रतिद्वन्द्वी जावलाखेल युथ क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै १२ वर्षपछि आफ्नै घरेलु मैदानमा ऐतिहासिक सफलता हात पारेको हो ।
को–को भए उत्कृष्ट
हाइऐष्ट गोल स्कोरर–पापा आइवौ केवे (प्लानिङ ब्वाइज युनाइटेड) ३ गोल
वेष्ट गोलकिपर–टिकेन्द्र थापा (सहारा क्लब)
वेष्ट डिफेन्डर–डाए डानियल (सहारा क्लब)
वेष्ट मिडफिल्डर–बौबोकार शिसोको (जावलाखेल युथ क्लब)
बेष्ट फवार्ड–धरवेन्द्र कुँवर (जावालाखेल युथ क्लब)
वेष्ट कोच–सुनिल राना मगर (सहारा क्लब)
फेयर प्ले टिम–आभा एफसी, उज्बेकिस्तान
वर्ष उदियमान खेलाडी–मुकुन्द कुमार निउरे (सहारा क्लब)
उत्कृष्ट हुने सबै खेलाडीले जनही नगद रु २५ हजारका साथमा ट्रफी तथा मेडल प्राप्त गरे ।
प्रतियोगितामा प्लेयर अफ दि टुर्नामेन्टको उपाधि सहारा क्लब पोखराका मुकुन्द कुमार निउरे घोषित भए । उनले टेलजीको स्कुटरका साथमा ट्रफी प्राप्त गरे ।
खेलको पहिलो गोल पहिलो हाफको २५औँ मिनेटमा आएको थियो । सुसिल लामाले लिएको कर्नर किकलाई मुकुन्द कुमार निउरेले फ्लिक हेडरमार्फत जाली चुमाउँदै सहारालाई अग्रता दिलाए । पहिलो हाफ १–० को अवस्थामा सकिएको थियो ।
दोस्रो हाफको ७३औँ मिनेटमा सहाराले अग्रता दोब्बर बनायो । सुसिल लामाको फ्रि–किकमा डाए डेनिएल बादारुले सशक्त हेडर गर्दै टोलीको जित सुनिश्चित गरे ।
उपाधिसँगै सहाराले नगद १४ लाख एक रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्दा उपविजेता जावलाखेलले ७ लाख १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
गत माघ २७ गतेदेखि सुरु भएको प्रतियोगितामा ३ विदेशी टोलीसहित कुल १२ टिमको सहभागिता रहेको थियो । १२ वर्षपछि घरेलु मैदानमा उपाधि उचाल्दै सहारा क्लबले पोखरेली समर्थकलाई ऐतिहासिक खुसी दिएको छ ।