
पोखरा स्पोर्ट्स । २५ औं संस्करणको आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को उपाधिका लागि आयोजक सहारा क्लब र जावलाखेल युथ क्लब बीच भोलि (शनिबार) दिउँसो २ बजे पोखरा रंगशालामा रोमाञ्चक फाइनल भिडन्त हुँदैछ । १४ लाख १ हजार रुपैयाँ नगद पुरस्कारसहितको उपाधि जित्दै इतिहास रच्ने दाउमा दुवै टोली रहेका छन् । शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका हुन् ।
सडेन डेथको आत्मबलमा सहारा
समूह ‘ए’ बाट अघि बढेको सहाराले सेमिफाइनलमा सर्वाधिक सफल टोली मनाङ मर्स्याङदी क्लबलाई सडेन डेथमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । यसअघि क्वाटरफाइनलमा पनि सहाराले नेपाल पुलिस क्लब विरुद्ध सडेन डेथमै जित निकाल्दै अदम्य आत्मबल प्रस्तुत गरेको थियो । लगातार दुई चरण सडेन डेथमा जित्नु सहाराको मानसिक दृढता र दबाब सहने क्षमताको प्रमाण बनेको छ ।
१२ वर्षपछि उपाधि ‘घर फर्काउने’ लक्ष्यसहित सहारा मैदान उत्रँदैछ । २०७० सालमा मनाङलाई हराउँदै उपाधि जितेको सहाराले त्यसयता ट्रफी चुम्न सकेको छैन । प्रशिक्षक सुनिल राना मगरका अनुसार सहारा एकेडेमीका उत्पादन युवा खेलाडी र दर्शक समर्थन नै टोलीको मुख्य बल हो । कप्तान सुसिल लामाको नेतृत्वमा सहारा आक्रामक रणनीतिसहित मैदान उत्रने तयारीमा छ । लामो समय म्यानेजरको भूमिका निर्वाह गरेका मगर यस संस्करणमा प्रशिक्षकको जिम्मेवारीमा छन् । सहाराले उद्घाटन खेलमा हङकङको गोर्खा इन्टरनेशनल क्लब लाई पराजित गरेको थियो ।
निरन्तर उत्कृष्ट प्रदर्शनमा जावलाखेल
समूह ‘बी’ बाट जावलाखेल युथ क्लबले सेमिफाइनलमा उज्वेकिस्तानको आबा फुटबल क्लब लाई १–० ले हराउँदै उपाधि नजिक पुगेको हो । यसअघि प्रि–क्वाटरफाइनलमा मच्छिन्द्र फुटबल क्लब र क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेड लाई पराजित गर्दै जावलाखेलले निरन्तर प्रभावशाली प्रदर्शन गरेको छ ।
प्रशिक्षक सुनिल कुमार श्रेष्ठले उनेस चौधरीको कप्तानीमा टोली स्पष्ट रणनीतिसहित मैदान उत्रने बताएका छन् । “नेपाली फुटबलको मुख्य समस्या फिनिसिङ हो,” उनले भने, “फाइनलमा जसले पहिलो गोल गर्छ, उपाधि उसकै पक्षमा जाने सम्भावना धेरै हुन्छ।” २०६८ सालमा मनाङसँग फाइनलमा पराजित हुँदै उपविजेता बनेको जावलाखेल यसपटक इतिहास पल्टाउने दृढ संकल्पमा छ ।
आकर्षक पुरस्कार र सहभागिता
हिमश्री फुड्सको उत्पादन ‘रारा’ तयारी चाउचाउको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा विजेताले १४ लाख १ हजार रुपैयाँ तथा उपविजेताले ७ लाख १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ न्।
गत माघ २७ गतेदेखि सुरु भएको प्रतियोगितामा ३ विदेशी टोलीसहित १२ टिमको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष केशव बहादुर थापाले जानकारी दिए । गत वर्ष उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब ले उपाधि जितेको थियो ।
एकातिर सडेन डेथ जितको आत्मविश्वास बोकेको सहारा, अर्कोतिर निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको जावलाखेल—२५औं संस्करणको ऐतिहासिक फाइनलमा दुवै टोली इतिहास रच्ने दाउमा छन् ।
