राष्ट्रिय हक्की प्रतियोगिताः गण्डकी महिला टोली अपराजित, पुरुषतर्फ कोशीको फराकिलो जित

पोखरा स्पोर्ट्स । काठमाडौंस्थित दशरथ रंगशालामा जारी दोस्रो महिला तथा पुरुष राष्ट्रिय हक्की प्रतियोगिता–२०८२ अन्तर्गत चौथो दिनका खेलहरू उत्साहपूर्ण रूपमा सम्पन्न भएका छन् । महिलातर्फ गण्डकी प्रदेशले उत्कृष्ट प्रदर्शन गर्दै अपराजित यात्रा कायम राखेको छ भने पुरुषतर्फ कोशी प्रदेशले फराकिलो जित हात पारेको छ ।

महिला तर्फको खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई ४–० गोलअन्तरले पराजित गर्‍यो । गण्डकीका लागि अंकिता अधिकारीले १४औं र ६०औं मिनेटमा दुई गोल गरिन् । त्यस्तै २०औं मिनेटमा बुद्धी माया मगर र ३७औं मिनेटमा सीता माया बलले एक–एक गोल थपे । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी गण्डकीकी सीता माया बल ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

महिला तर्फकै अर्को खेलमा मधेश प्रदेशले बागमती प्रदेशलाई १–० गोलअन्तरले हरायो । मधेशका लागि ४२औं मिनेटमा प्रीति दासले निर्णायक गोल गरिन् । उत्कृष्ट प्रदर्शनका लागि मधेशकी प्रीति दास ‘प्लेयर अफ द म्याच’ बनिन् ।

यसैगरी पुरुष तर्फको खेलमा कोशी प्रदेशले बागमती प्रदेशलाई ७–० गोलअन्तरले पराजित गर्दै प्रभावशाली जित दर्ता गर्‍यो । कोशीका लागि सुदीप चौधरीले ७औं, ३८औं र ४८औं मिनेटमा ह्याट्रिक पूरा गरे ।

त्यस्तै, लक्ष्मण समारियाले ३७औं र ४४औं मिनेटमा दुई गोल गरे भने ५०औं र ५९औं मिनेटमा कबिराज सञ्जेलले दुई गोल थपे । उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गरेका सुदीप चौधरी ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

नेपाल हक्की संघको आयोजनामा जारी प्रतियोगिता शनिबार सम्म सञ्चालन हुनेछ । शनिबार फाइनल खेल सञ्चालन हुने महासचिब सूवर्ण श्रेष्ठले जानकारी दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close