रेख माया र शिवालीलाई तमु धिं यूकेको ‘तमु प्रतिभा पुरस्कार’

पोखरा स्पोर्ट्स । तेक्वान्दो प्रशिक्षक एवं रेफ्री रेख माया गुरुङ र टेनिसकी उदीयमान खेलाडी शिवाली गुरुङलाई आज पोखरामा सम्मान गरिएको छ ।  बेलायतस्थित प्रतिष्ठित संस्था तमु धिं युकेले एक विशेष कार्यक्रम आयोजना गरी दुवैलाई ‘तमु प्रतिभा पुरस्कार’ अन्तर्गत जनही नगद ५०–५० हजार रुपैयाँसहित सम्मान गरेको हो ।

उनीहरुलाई संस्थाका अध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष कमल बहादुर गुरुङलगायत पदाधिकारीहरूले सम्मान गरेका थिए । सम्मानित दुवैले संस्थाप्रति आभार व्यक्त गर्दै यस पुरस्कारले आफूहरुलाई खेलकुद क्षेत्रमा अझ प्रेरित बनाउने विश्वास व्यक्त गरे ।

तेक्वान्दो क्षेत्रमा लामो समयदेखि सक्रिय रेख माया गुरुङ हाल पोखरामा एब्सोल्युट तेक्वान्दो सञ्चालन गर्दै नयाँ खेलाडी उत्पादनमा योगदान दिइरहेकी छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी उनले तेक्वान्दो क्षेत्रमा पुर्‍याएको निरन्तर योगदानको कदरस्वरूप यो सम्मान प्राप्त गरेकी हुन् । उनी तेक्वान्दोकी निर्णायक समेत हुन्।

त्यसैगरी, १४ वर्षीया टेनिस खेलाडी शिवाली गुरुङ नेपाली टेनिसकी आशालाग्दी प्रतिभा हुन् । उनले जनवरी २०२६ मा अस्ट्रेलियामा सम्पन्न अस्ट्रेलियन ओपन अन्तर्गतको एलाइट प्रतियोगितामा सहभागिता जनाउँदै उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडीको रूपमा इतिहास रचेकी थिइन् ।

हालै पोखरामा सम्पन्न आइटिएफ जे३० प्रतियोगितामा उनले दोहोरो स्वर्ण जित्दै च्याम्पियन बन्न सफल भएकी थिइन् । साथै, श्रीलंकामा सम्पन्न प्रतियोगितामा एक स्वर्ण र एक रजत पदक जितेर उनले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रमाणित गरेकी छन् ।

तमु धिं युकेले नेपाली खेलकुद, कला र संस्कृतिमा योगदान पुर्‍याउने प्रतिभाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष ‘तमु प्रतिभा पुरस्कार’ प्रदान गर्दै आएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close