राष्ट्रिय हक्की प्रतियोगिताः गण्डकीको दबदबा कायम, महिला र पुरुष दुवैमा शीर्ष स्थान सुरक्षित

पोखरा स्पोर्ट्स । दोस्रो महिला तथा पुरुष राष्ट्रिय हक्की प्रतियोगिता–२०८२ अन्तर्गत तेस्रो दिन गण्डकी प्रदेशले महिला र पुरुष दुवै विधामा उत्कृष्ट प्रदर्शन गर्दै दोहोरो जित हात पारेको छ । काठमाण्डौस्थित दशरथ रंगशालामा सम्पन्न तीन खेलमध्ये गण्डकीले दुई खेल जित्दा सुदूरपश्चिमले एक खेल आफ्नो पक्षमा पार्न सफल भएको हो ।

तेस्रो दिनको समाप्तिसँगै गण्डकी प्रदेश महिला र पुरुष दुवैतर्फ मजबुत अवस्थामा देखिएको छ । प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउँदै गण्डकीले पुरुषतर्फ गोल अन्तरका आधारमा ६ अंकसहित शीर्ष स्थान कायम राखेको छ । समान ६ अंक भए पनि गोल सख्याका आधारमा सुदूरपश्चिम दोस्रो स्थानमा छ भने मधेश प्रदेश ३ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

महिलातर्फ पनि गण्डकी अपराजित रहँदै ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । सुदूरपश्चिम र मधेश प्रदेश समान ३–३ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् । नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठका अनुसार गण्डकी दुवै विधामा फाइनल प्रवेशको बलियो दाबेदारका रूपमा उभिएको छ ।

बुधबार सम्पन्न पुरुषतर्फको पहिलो खेलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई ३–० ले पराजित गर्‍यो । सुदूरपश्चिमका भरत टमाटाले पहिलो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि महेश नेपालीले ४औँ र ४५औँ मिनेटमा दुई गोल थप्दै जित सुनिश्चित गरे । उत्कृष्ट प्रदर्शनपछि महेश नेपाली ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

महिलातर्फ गण्डकीले सुदूरपश्चिमलाई १–० ले पराजित गर्‍यो । खेलको ३०औँ मिनेटमा अंकिता अधिकारीले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाइन् । उत्कृष्ट प्रदर्शनका लागि उनी नै ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

त्यसैगरी पुरुषतर्फको अर्को खेलमा गण्डकीले बागमती प्रदेशलाई ३–१ ले हरायो । गण्डकीका विवेक गुरुङले ९औँ मिनेटमा, विशाल कुमारले ३९औँ मिनेटमा तथा मोहन पुनले ६०औँ मिनेटमा गोल गरे । बागमतीका लागि ४०औँ मिनेटमा जेम्स पेरी श्रेष्ठले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । उत्कृष्ट प्रदर्शनका लागि विवेक गुरुङ ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

तेस्रो दिनको खेलपछि गण्डकी प्रदेश दुवै विधामा फाइनल नजिक पुगेको छ भने प्रतियोगिता थप रोमाञ्चक बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close