
पोखरा स्पोर्ट्स । फुटबल प्रेमीले खचाखच भरिएको मैदान, रोमाञ्चक प्रतिस्पर्धा र अन्तिम क्षणसम्मको तनावबीच आयोजक सहारा क्लब पोखराले इतिहास रच्दै २५औं आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
ए डिभिजनको बलियो टोली मनाङ मर्स्याङदी क्लबलाई सडेन डेथमा ७–६ ले पराजित गर्दै सहाराले उपाधि नजिकको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो । पेनाल्टीमा पनि बराबरी भएपछि निर्णय सडेन डेथबाट गरिएको थियो ।
निर्णायक क्षणमा गोलकिपर टिकेन्द्र थापाले सविन खड्काको प्रहार उत्कृष्ट रूपमा बचाउ गर्दै सहारालाई फाइनलको ढोका खोले । उनको अद्भुत प्रदर्शन नै सहाराको जितको मुख्य आधार बन्यो । खेलमा सहारा क्लबका ताये डायनियल बादारु ‘प्लेयर अफ दि म्याच’ घोषित भए ।
ऐतिहासिक जितसँगै आयोजक सहारा क्लब पोखरा उपाधि नजिक पुगेको छ र समर्थकमा उत्साहको लहर छाएको छ ।
अब भोली हुने दोस्रो सेमिफाइनलमा जावलाखेल युथ क्लब र आभा एफसी उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुनेछ, जसबाट फाइनलको अर्को प्रतिस्पर्धी तय हुनेछ ।
