पोखरा रंगशाला फुटबल स्टेडियमको मर्मत कार्य, ७ करोड खर्च गरिदैं

पोखरा स्पोर्टस । पोखरा रंगशाला फुटबल स्टेडियमको मर्मत कार्य सुरू भएको छ । हस्तान्तरणको क्रममा रहेको उक्त फुटबल रंगशाला भारत र नेपालको जोइन्ट भेन्चर निर्माण कम्पनी एम.ए कन्स्ट्रक्शनले निर्माण गरेको हो ।

१ अर्व २८ करोड ५० लाखमा निर्माण  सम्पन्न गरिएको देशकै ठूलो फुटबल स्टेडियम दर्शक क्षमतामा आधारमा समेत ठूलो हो । १६ हजार ५ सय दर्शक क्षमता रहेको सो स्टेडियममा प्राविधिक समस्या भए संगै निर्माण कम्पनीले मर्मत कार्य सुरू गरेको जिल्ला खेलकुदका उपाध्यक्ष तिलक अधिकारी क्षेत्रीले पोखरा स्पोर्ट्सलाई जानकारी दिए ।

स्टेडियममा यस अघि फिटिङ गरिएको ‘प्याराफिट ट्रेड’ (डेकिङ सिट्) घाम र पानीले भाँचिन र उप्किन थाले संगै निर्माण कम्पनीले आफ्नै खर्चमा मर्मत सुरू गरेको हो । एम ए कन्सट्रक्सनका म्यानेजर दिपक बरालले मर्मतका लागि ७ करोड खर्च हुने पोखरा स्पोर्ट्सलाई बताए । उनले भने–“सुरूमा फिटिङ भएका डेकिङ सेट पोखराको हावापनी सुहाँउदो हुन सकेन । निर्माण सम्पन्न भएको केही वर्षमा उप्किन सुरू भयो । सम्भावित दुर्घटना नहोस भन्नका लागि नै हामीले नयाँ डेकिङ सेट जडान सुरू गरेका हौं ।”

मर्मतमा लाग्ने सम्पूर्ण खर्च निर्माण कम्पनीले नै व्यहोर्ने गरी मर्मत कार्य अघि बढेको हो । पोखरा फुटबल स्टेडियम हस्तान्तरण समेत हुन सकेको छैन । राखेपले कम्पनीलाई झण्डै ४ करोड भन्दा बढि तिर्न बाँकी रहेको निर्माण कम्पनीले जनाएको छ ।

स्टेडियमको दर्शक दिर्घामा राखिएको डेकिङ सेटहरुका कारण त्यहाँ आउने दर्शकहरुले समस्या भोग्दै आएका थिए । पुरानो डेकिङ सेटको स्थान्तरण गर्दै कम्पनीले स्टिलको डेकिङ सेट जडान गर्न लागेको हो । सोको जडान भए संगै रंगशालाको दर्शक दिर्घा अझै बलियो हुने अपेक्षा गरिएको उपाध्यक्ष क्षेत्रीले बताए । उनले भने–“प्रतियोगिता हुँदा कोही कसैलाई चोटपटक लाग्छ की भन्ने सन्त्राशमा बस्नु पर्ने हुन्थ्यो । तर अब निर्माण कम्पनीले यसलाई बलियो बनाउने गरी मर्मत सुरू गरेको छ ।”

यता समितिका अध्यक्ष मिलन गुरूङले समेत निर्माण कम्पनीले सुरू गरेको मर्मत कार्यका लागि आभार व्यक्त गरे । उनले भने–“देशकै गौरव पोखरा फुटबल स्टेडियम समस्यामा थियो । अब त्यो सुधार हुनेछ । म निर्माण कम्पनीको यो अग्रसरताका लागि धन्यबाद दिन चाहन्छु ।” पोखरा फुटबल स्टेडियममा अब फ्ल्ड लाइट जडान भयो भने अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताका लागि सहज हुनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close