पोखरामा ‘केपी ओली कप राष्ट्रिय रनिङ शिल्ड टि–२० क्रिकेट’ हुने

पोखरा स्पोर्टस् । मदन भण्डारी स्पोर्टस् एकेडमीले पोखरामा ‘केपी ओली कप राष्ट्रिय रनिङ शिल्ड टि–२० क्रिकेट प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।

आगामी बैशाख २३ देखि ३० गते सम्म उक्त प्रतियोगिता आयोजना गरिने एकेडेमीले राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । राष्ट्रियस्तर र प्रदेशस्तरका विभिन्न प्रतियोगताहरु विभिन्न प्रदेश र जिल्लामा गरी १५ वटा प्रतियोगिता घोषणा गरेको एकेडेमीले पोखरालाई क्रिकेटका लागि रोजेको हो ।

प्रतियोगिता बारे जानकारी दिंदै एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले पछिल्लो समय पोखरा क्रिकेटको हव बन्दै गएकोले र धेरै राष्ट्रिय खेलाडीहरु समेत पोखरामा खेल्न चाहेकोले पोखरालाई क्रिकेटको लागी रोजेको बताए । “हामी खेलकुदको विकास संगै खेलाडीहरुको उत्पादन तथा खेलमार्फत खेल पर्यटनलाई समेत जोडेका छौं” उनले भने–“पोखरा आफैमा खेलकुदको हव हो र पछिल्लो समय क्रिकेटको समेत हव बन्दै गएको छ । पोखरामा यो प्रतियोगिताको आयोजनाले पक्कै पनि उत्साह जगाउने छ ।”

प्रतियोगिता बारे जानकारी दिंदै एकेडेमी अन्तर्गत रहेको क्रिकेट विभागका अध्यक्ष एवं पूर्व राष्ट्रिय खेलाडी शक्ती गौचनले उक्त प्रतियोगितामा ६ टिमको सहभागिता हुने बताए ।

लिगकम नक आउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा ३ विभागिय टिम शसस्त्र प्रहरीको एपिएफ क्लब, नेपाल आर्मी क्लव, नेपाल पुलिस क्लव, आयोजक गण्डकी प्रदेश, मदन भण्डारी स्पोर्टस् एकेडेमीको टिम र भारतमा रणजी ट्रफी खेलेका खेलाडी सम्मिलित एक टिमको सहभागिता हुनेछ । उनले भने–“यो पहिलो प्रयास हो । हामीले पोखरालाई रोजेका छौं । पोखरेलीहरुको मायाँले यो प्रतियोगिता सफल हुनेमा विश्वस्त छौं ।”

एकेडेमीका अध्यक्ष आचार्यका अनुसार प्रतियोगितामा च्याम्पियन हुने टिमले नगद १० लाख, उपविजेताले नगद ५ लाख एवं बेष्ट बलर र ब्याट्स म्यानले नगद २५–२५ हजार रुपैया नगदका साथमा ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न करिव १ करोड खर्च हुने आयोजकले जनाएको छ । 

“सबैका लागि खेलकुद” भन्ने मूल नारासहित एकेडेमीले देशका विभिन्न स्थानमा क्रिकेटसहित कराते, रेसलिङ, ब्याडमिन्टन, चेस, फुल कन्टयाक्ट लगायतका राष्ट्रिय प्रतियोगिता तथा फुटबल, भलिबल, तेक्वान्दो, फुटसल, डोरी तानलगायत प्रदेशस्तरीय प्रतियोगिता हुने एकेडेमीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close