पोखरामा गण्डकी प्रदेशस्तरीय स्क्वास प्रतियोगिता सुरु

पोखरा स्पोर्ट्स । पोखरामा गण्डकी प्रदेशस्तरीय स्क्वास प्रतियोगिता आजबाट सुरु भएको छ। गण्डकी प्रदेश स्क्वास तथा र्याकेट संघको आयोजनामा दुई दिने प्रतियोगिता सञ्चालन भएको हो । आसन्न दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन परिषदका सदस्य रविन्सन प्रजुले गरेका थिए। कार्यक्रममा बोल्दै उनले सीमित स्रोत–साधनका बाबजुद खेलकुदलाई सक्रिय राख्दै दशौं राष्ट्रिय खेलकुदको तयारीका लागि विभिन्न प्रतियोगितामार्फत प्रारम्भिक छनोट प्रक्रिया अघि बढाइएको बताए ।

गण्डकी प्रदेश स्क्वास तथा र्याकेट संघका अध्यक्ष अशोक रञ्जितको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा महासचिव कमल बहादुर बस्नेत, जिल्ला स्क्वास संघका अध्यक्ष प्रविन पालिखेलगायतले मन्तव्य राखेका थिए । वक्ताहरूले नवौं राष्ट्रिय खेलकुदमा जस्तै यसपटक पनि गण्डकीले स्क्वासमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा २० पुरुष र ३ महिला गरी कुल २३ खेलाडी सहभागी छन् । प्रतियोगिता राउण्ड रोबिन प्रणालीका आधारमा खेलाइने अध्यक्ष रञ्जितले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close