इतिहासको कोर्टमा गण्डकीको सर्व! ‘खेल्छ गण्डकी’का तीन जुनियर टेनिस खेलाडी डेभिस कप खेल्न श्रीलंका जाँदै

पोखरा स्पोर्ट्स । गण्डकी प्रदेशको टेनिस इतिहासमा नयाँ अध्याय थपिने भएको छ । गण्डकी प्रदेश टेनिस संघद्वारा सञ्चालन हुँदै आएको जुनियर टेनिस प्रशिक्षण कार्यक्रम ‘खेल्छ गण्डकी’ बाट प्रशिक्षण लिइरहेका तीन जना खेलाडीले अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा सहभागिता जनाउने भएका छन् ।

श्रीलंकाको राजधानी कोलोम्बोमा आयोजना हुने १६ एण्ड अण्डर प्री–क्वालिफाइङ डेभिस कप जुनियर २०२६ मा गण्डकीका सुरेन्द्र विक, अभिषेक विक र सुरज सुनार छनौट भएका हुन् । काठमाण्डौमा मंगलबार सम्पन्न छनौट खेलबाट उनीहरु अन्तिम टिममा पर्दै अन्तर्राष्ट्रिय कोर्टमा उत्रिन लागेका हुन् ।

गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थले यसलाई प्रदेशकै लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन् । अध्यक्ष कायस्थले भने, “यो गण्डकी टेनिसको लागि गर्वको क्षण हो। एकैचोटि तीन जना खेलाडी डेभिस कप जस्तो अन्तर्राष्ट्रिय प्री–क्वालिफाइङ प्रतियोगिताका लागि छनौट हुनु भनेको हाम्रो निरन्तर मेहनत र प्रशिक्षणको परिणाम हो। यसले हामी मात्र होइन, हामीलाई साथ दिने सबै सहयोगीहरुको विश्वास पनि जितेको छ ।”

प्रदेश खेलकुद परिषद् गण्डकीको सहयोग तथा विभिन्न सहयोगी संस्थाको साथमा पछिल्लो दुई वर्षदेखि निरन्तर सञ्चालनमा रहेको ‘खेल्छ गण्डकी’ कार्यक्रममा हाल ३० जना विपन्न वर्गका बालबालिकाले निःशुल्क टेनिस प्रशिक्षण लिइरहेका छन् ।

उक्त १६ एण्ड अण्डर प्री–क्वालिफाइङ डेभिस कप जुनियर २०२६ प्रतियोगिता यही मार्च २३ देखि २८ तारिखसम्म श्रीलंकाको कोलोम्बोमा सञ्चालन हुनेछ । गण्डकीका ती तीन युवा खेलाडीले नेपाल र प्रदेशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय टेनिस कोर्टमा आफ्नो क्षमता देखाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close