
पोखरा स्पोर्ट्स । सहारा युकेले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–३ स्थित हैवुङ महादेवस्थान माध्यमिक विद्यालयमा रु ३ लाखको अक्षयकोष स्थापना गरेको छ । गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्दै विद्यालयमा विद्यार्थी आकर्षण बढाउने उद्देश्यले उक्त अक्षयकोष स्थापना गरिएको हो ।

२०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको उक्त विद्यालयको पुनर्निर्माणका लागि सहारा युकेले यसअघि विभिन्न सहयोगीहरूसँग रकम संकलन गरी करिब रु २१ लाखको लागतमा पाँच कोठे पक्की भवन निर्माण गरिसकेको छ ।
अक्षयकोष स्थापनाबारे सहारा युकेका पूर्व अध्यक्ष मिनबहादुर गुरुङ (साइला)ले जानकारी दिँदै विद्यालयको शैक्षिक उन्नयनमा सहयोग पुर्याउने उद्देश्यले यो पहल गरिएको बताए ।
सहारा युकेका अध्यक्ष शारदा गुरुङको नेतृत्वमा पूर्व अध्यक्षहरू मिनबहादुर गुरुङ र ले.रि. कुशाङ गुरुङ, सहारा युके पूर्व एफसी चेयरमेन हरिकुमार श्रेष्ठ, पूर्व डीएसपी वाचस्पति रेग्मी तथा मेजर सूर्यबहादुर गुरुङसहितको टोली विद्यालय पुगेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर लामा, प्रधानाध्यापक राजकुमार लामिछाने र वडा शिक्षा समितिका संयोजक कुमार बञ्जारालाई नगद रु ३ लाख हस्तान्तरण गरेको थियो ।
उक्त अवसरमा हैवुङ महादेवस्थान माध्यमिक विद्यालयले सहारा युकेका अध्यक्ष शारदा गुरुङ तथा पूर्व अध्यक्षद्वय मिनबहादुर गुरुङ र ले.रि. कुशाङ गुरुङलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मानसमेत गरेको छ ।
कार्यक्रममा बोल्दै सहारा युकेका अध्यक्ष शारदा गुरुङले भूकम्पपछिको करिब नौ वर्षपछि विद्यालयमा पुनः पुगेर अक्षयकोषमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले विद्यालयको समग्र विकासका लागि आगामी दिनमा पनि सहारा युकेको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।
हाल सो विद्यालयमा करिव १६० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । सहारा युकेले खेलकुदको विकाससँगै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा समेत सहयोग गर्दै आइरहेको छ ।
