खेलकर्मीहरूले राजनीतिक दललाई बुझाए दुरगामी प्रभाव राख्ने सुझावपत्र

पोखरा स्पोर्ट्स । नेपाल आम निर्वाचनको संघारमा उभिएको सन्दर्भमा खेलकर्मीहरूले खेलकुद क्षेत्रलाई राज्यको प्राथमिकतामा राख्न माग गर्दै विभिन्न राजनीतिक दललाई सुझावपत्र बुझाएका छन् ।

करिब तीन दर्जन खेलकर्मीको संयुक्त पहलमा तयार गरिएको सुझावपत्रमा खेलकुदलाई आधारभूत अधिकारको रूपमा स्थापित गर्नुपर्ने, स्वस्थ नागरिक निर्माणका लागि विद्यालय तथा समुदाय तहबाटै खेलकुद प्रवर्द्धन गर्नुपर्ने, खेलकुदमार्फत रोजगारी, लगानी र पर्यटनको दिगो विकास गर्नुपर्ने विषय समेटिएको छ ।

सुझावपत्रमा खेलाडी, प्रशिक्षक तथा खेलकुद संस्थाको सुदृढीकरण, महिला सशक्तीकरण, अपांगमैत्री तथा भेट्रान खेलकुद, हिमाल–पहाड–तराईका भूगोलअनुसार सम्भावित खेलकुदको विकास, खेल नीति तथा ऐन संशोधनसहित समग्र खेल प्रशासन सुधारमा जोड दिइएको छ ।

खेलकर्मीहरूले खेलकुद क्षेत्र राष्ट्रको पहिचान र राष्ट्रिय एकताको प्रतीक भएकाले राज्यले उच्च प्राथमिकता दिनुपर्ने साझा धारणा व्यक्त गरेका छन् । खेलकुदलाई संस्कृति र पर्यटनसँग जोडेर व्यवसायिक रूपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै त्यसका लागि नीतिगत व्यवस्था अपरिहार्य भएको सुझावपत्रमा उल्लेख छ ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा एमालेका कार्यालय प्रमुख डा. भीष्म अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डी.पी. अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र गुरुङ तथा नेकपा नेता जगन्नाथ खतिवडालाई सुझावपत्र बुझाइएको थियो ।

सुझावपत्र ग्रहण गर्दै सम्बन्धित दलका नेताहरूले खेलकुद आधुनिक समाज र राष्ट्र निर्माणको मेरुदण्ड भएको स्वीकार गर्दै आफ्ना पार्टीको चुनावी घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकताका साथ समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

खेलकर्मीहरूले भावी सरकारले नीति, कार्यक्रम र बजेटमार्फत खेलकुद क्षेत्रलाई समेटेर दिगो सामाजिक तथा आर्थिक रूपान्तरणको आधार बनाउनुपर्ने अपेक्षा व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close