नवौँ राष्ट्रिय राफ्टिङमा फिस्लिङ ‘ए’ समग्र च्याम्पियन, कायक स्लालोममा विजय माझी शीर्षमा

पोखरा स्पोर्ट्स ।  चितवनको फिस्लिङमा सम्पन्न नवौँ राष्ट्रिय राफ्टिङ तथा १४औँ राष्ट्रिय क्यानोनिङ प्रतियोगितामा नेपाल राफ्टिङ एण्ड कायक क्लब फिस्लिङ ‘ए’ ले समग्र उपाधि हात पारेको छ ।

सम्पन्न अन्तिम दिन तीनवटै मुख्य राफ्टिङ विधामा उत्कृष्ट प्रदर्शन गर्दै फिस्लिङ ‘ए’ ले कुल ९७२ अङ्क जोडेर पहिलो स्थान सुरक्षित गर्‍यो ।  १२ क्लब सहभागी प्रतियोगितामा फिस्लिङ ‘ए’ ले स्लालोममा ३००, हेड–टु–हेडमा ३५० र डाउन रिभर रेसमा ३२२ अङ्क प्राप्त गरेको हो ।

प्याडल नेपाल ‘बी’ ८९९ अङ्कसहित दोस्रो र राफ्टिङ एड्भेन्चर नेपाल ८५१.५ अङ्कसहित तेस्रो स्थानमा रहे। भोटेकोशी एड्भेन्चर क्लबका ‘ए’ र ‘सी’ टोली क्रमशः चौथो र पाँचौँ स्थानमा सीमित भए ।

कायक स्लालोम विधामा विजय माझी च्याम्पियन बने। उनले १२४.५१ स्कोरसहित निर्धारित दूरी पूरा गर्दै शीर्ष स्थान हासिल गरे । आशिष रानामगर १२६.९२ स्कोरसहित दोस्रो भए भने रन्जन कंडेल, रविन्द्र चेपाङ र रुबिन तामाङले क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थान प्राप्त गरे ।

राफ्टिङतर्फ प्रथम, दोस्रो र तेस्रो हुने टोलीले क्रमशः ६५ हजार, ३५ हजार र २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । कायक स्लालोममा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः २५ हजार, १५ हजार र ७ हजार ५ सय रुपैयाँ पुरस्कार हात पारे ।

बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा आयोजित प्रतियोगिताका विजेतालाई परिषद्का सदस्य सचिव दिपक लामा, नेपाल राफ्टिङ एण्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ र एसियन राफ्टिङ एसोसिएसनका अध्यक्ष सौगत पाल सिकन्दले पुरस्कार तथा मेडल वितरण गरे ।

समापन समारोहमा अध्यक्ष श्रेष्ठले क्यानोइङ स्लालोम विधामा उत्कृष्ट पाँचभित्र पर्न सफल खेलाडीहरूलाई जापानमा आयोजना हुने एसियाली खेलकुदको पहिलो चरणको छनोट प्रक्रियामा सहभागी गराइने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close