रविलाई सूर्य नेपाल च्यालेन्जको उपाधि, डिफेन्डिङ च्याम्पियन सदभाव सात स्ट्रोकले पराजित

पोखरा स्पोर्टस । डिफेन्डिङ च्याम्पियन एमेच्योर सदभाव आचार्यलाई सात स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै पुर्व नम्बर एक गल्फर रवि खड्काले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको पाँचौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन् ।

उनले सात वर्षपछि करियरको पहिलो उपाधि जितेका हुन् । सन २०१७ को अप्रिलमा सूर्य नेपाल एनपीजीए म्याच प्ले जितेपछि यो उनको पहिलो उपाधि हो । उनको यो सूर्य नेपाल टुरको १२औं उपाधि हो। उपाधि सहित उनले नगद एक लाख प्राप्त गरे ।

लगातार दुई दिनका लिडर सदभाव आचार्यले अन्तिम दिन आज ६-ओभर ७४ को खराब प्रदर्शन गर्दा उपाधि रक्षा गर्ने मौका गुमाए । समग्रमा १–अन्डर २ सय ७१ को स्कोरमा उनले चित्त बुझाए । उनले एमेच्योरतर्फ उपाधि जिते । एमेच्योर तर्फ समग्रमा ७-ओभर २ सय ७९ को स्कोर मा टासी छिरिङ दोस्रो भए। उनले आज ३-ओभर ७१ मा खेल सकाए ।

समग्रमा १–ओभर २ सय ७३ सहित प्रोतर्फ दिनेश प्रजापति, दीपक मगर र धन बहादुर थापाले संयुक्तरुपमा दोस्रो स्थान बाँडे । दिनेशले आज ४–अन्डर ६४ को उत्कृष्ट स्कोर बनाउँदा दीपकले १-ओभर ६९ र धनले ३-ओभर ७१ को स्कोर खडा गरे । उनीहरूले समान ५१ हजार ६ सय ६५ रूपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

पहिलो दिनका लिडर रामे मगरले आज इभन–पार ६८ खेलेर समग्रमा ४–ओभर २ सय ७६ सहित पाँचौं स्थानमा खेल सकाउँदै ३६ हजार नगद पुरस्कार हात पारे । समग्रमा ५–ओभर २ सय ७७ को नतिजामा भुवन नगरकोटी, सञ्जय लामा, भुवन कुमार रोक्का र जयराम श्रेष्ठले संयुक्तरुपमा छैटौं स्थान बाँडे । दाबेदार भुवनले आज ८(ओभर ७६ को बिर्सनलायक प्रदर्शन गर्दा तेस्रो स्थानबाट तल झर्दै छैटौं स्थानमा खेल सकाउन बाध्य भए ।

यस्तै ३–ओभर ७१‌ स्कोर गर्दा भुवन कुमार रोक्का र जयरामले इभन(पार ६८ मा खेल पुरा गरे । उनीहरूले २७ हजार ८ सय ७५ नगद आफ्नो नाममा लेखाए । समग्रमा १२–ओभर २ सय ८४ को नतिजामा रमेश अधिकारी दशौं भए र २१ हजार प्राप्त गरे । उनले आज ६–ओभर २ सय ७४ को स्कोर बनाए ।

अन्तिम १८ होलको खेल सुरू हुँदा रवि सदभाव भन्दा ३ स्ट्रोकले पछि थिए । सदभावले लय गुमाउँदा रविले सुदबुझपुर्ण प्रदर्शन गरे । रविले पहिलो, दोस्रो, चौथो र आठौं होलमा बर्डी प्रहार गरे। तेस्रो र सातौं होलमा एक-एक सट खेर फाले । फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए । यता ३ स्ट्रोकको अग्रतामा दिनको सुरूवात गरेका सदभावले पहिलो होलमा बर्डी प्रहार गरे पनि तेस्रो होलको डबल बोगी र आठौं होलको बोगीले फ्रन्ट नाइन २–ओभर ३६ मा सकाए । नौ होलको समाप्तीमा रविले सदभावलाई एक स्ट्रोकले पछि पारे ।

खेलको टर्निङ प्वाइन्ट दशौं होल बन्यो । सदभावले टी सट जंगलमा प्रहार गरे । दोस्रो सट ओबी खेल्दा यो होलमा ट्रीपल बोगीको सामना गर्न बाध्य भए । यता रविले यही होलमा इगल प्रहार गर्दा दशौं होलको समाप्तीमा रविले सदभाव विरूद्ध ६ स्ट्रोकको अग्रता बनाए। यसपछि रविले १७औं होलमा एक सट खेर फाले भने १८औं होलको बर्डीले ब्याक नाइन २–अन्डर ३२ मा नै पुरा गरे ।

सदभावले दशौं होलको ट्रीपल बोगी लगतै १२औं होलमा डबल बोगी र १५औं होलमा बोगीको सामना गरे। १३औं र १४औं होलमा एक(एक सट बचाए र ब्याक नाइन ४–ओभर ३८ मा सकाए ।

दिनेशले फ्रन्ट र ब्याक नाइन दुवै २–अन्डर ३२ मा सकाए । उनले पहिलो, चौथौं, आठौं, १०औं र १५औं होलमा बर्डी प्रहार गर्दा सातौं होलमा एक सट खेर फाले ।

दीपकले पहिलो र सातौं होलमा एक-एक सट बचाउँदा पाँचौ र नवौं होलको बोगीले फ्रन्ट नाइन इभन(पार ३४ मा सकाए । यसपछि १३औं होलको बर्डी विरूद्ध १५औं र १७औं होलको बोगीले ब्याक नाइन १-ओभर ३५ मा पुरा गरे ।

धनले फ्रन्ट नाइन २-ओभर ३६ र ब्याक नाइन १-ओभर ३५ मा पुरा गरे । यो क्रममा उनले पहिलो, ११औं, १३औं र १५औं होलमा बर्डी प्रहार गरेपनि तेस्रो, आठौं र नवौं होलमा बोगी खेप्दा १०औं र १८औं होलमा डबल बोगीको सामना गरे ।

७२ होलको चार दिने प्रतियोगिताको कुल ५ लाख ७२ हजार २ सय ५० नगद पुरस्कार राशी रहेको थियो । प्रतियोगितामा कूल ३१ प्रोफेसनल र ११ एमेच्योर खेलाडीको सहभागीता रहेको थियो ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल‌ प्रालिका मार्केटिङ उपाध्यक्ष दीप्रा लहरी, पिजीए नेपालका सल्लाहकार घनश्याम थापा, आरएनजीसीका अध्यक्ष मधुकर याकथुम्बा, क्याप्टेन मिथुन राई र कोषाध्यक्ष रोशन राईले पुरस्कार वितरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close