२६औं आदर्शकपको उपाधी होराइजन क्लबलाई, सरकारले खेलकुद क्षेत्र विचलित बनायो–सदस्य सचिब शर्मा

पोखरा स्पोर्ट्स । पोखरा–२६ स्थित लेखनाथ आदर्श युवा क्लबको आयोजनामा शुक्रबार सम्पन्न २६औं आदर्शकप फुटबल प्रतियोगिताको उपाधी स्याङ्जा वालिङको होराइजन क्लबले जितेको छ । निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा गण्डकी प्रदेश प्रहरीलाई ७–६ को टाइब्रेकरमा पराजित गर्दै होराइजन क्लब च्याम्पियन बन्न सफल भएको हो ।

निर्धारित समयसम्म दुबै टिमबाट १–१ गोलको बराबरी भएपछि थपिएको अतिरिक्त समयमा समेत गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा भने होराइजन भाग्यमानी बन्यो ।

यसअघि फाइनल खेलको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य–सचिव श्रीधर शर्माले संघीय सरकारले खेलकुद क्षेत्रलाई विनियोजित बजेट रोकेर विचलित बनाएको आरोप लगाए । उनले देशभरका विभिन्न स्थानसहित लेखनाथ आदर्श खेल मैदानका लागि विनियोजन गरिएको करिब ३ करोड रुपैयाँ बजेट अर्थ मन्त्रालयले रोकेपछि खेलकुद विकासको यात्रा अवरुद्ध भएको बताए ।

जेन्जी आन्दोलनको प्रभावले पनि नेपाली खेलकुद प्रभावित भएको उल्लेख गर्दै उनले भने, “यस आर्थिक वर्षमा खेलकुदका लागि केही बजेट वृद्धि भएको देखिए पनि त्यो पर्याप्त छैन । विनियोजित बजेटसमेत रोकिँदा नेपाली खेलकुद मारमा परेको छ, युवाहरूको भावनामा चोट पुगेको छ ।”

खेलाडीहरूको जीवन र भविष्यबारे राजनीतिक दल तथा नेताहरू गम्भीर नबनेसम्म निरन्तर प्रश्न गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो । खेलाडी कल्याणकारी कार्यक्रम ल्याउन दबाब दिनु आवश्यक रहेको उल्लेख गर्दै उनले संघीय, प्रदेश र स्थानीय तहका नेताहरूलाई खेलकुद बजेट र घोषणापत्रमा स्पष्ट धारणा माग्नुपर्ने बताए । प्रदेश खेलकुद परिषदले खेलाडी कल्याणकारी कोषलगायत विभिन्न कार्यक्रम अघि सारेको पनि उनले जानकारी दिए ।

उपाधिसँगै गण्डकी होराइजनले नगद रु ४ लाख ९९ हजार ९९९, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता गण्डकी प्रदेशले नगद रु ३ लाख ३३ हजार ३३३ मा चित्त बुझाएको क्लबका सचिव सन्तोष गुरुङले पोखरा स्पोर्ट्सलाई जानकारी दिए ।

व्यक्तिगततर्फ गण्डकी प्रदेश प्रहरीका रोजन दाहाल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद रु २५ हजार प्राप्त गरे । त्यस्तै होराइजन क्लबका सन्दिप श्रेष्ठ वेष्ट डिफेन्स, टोप बहादुर राना वेष्ट गोलकिपर, सोही क्लबका सुन्दर श्रेष्ठ उत्कृष्ट प्रशिक्षक तथा गण्डकी प्रदेश प्रहरीका सुशिल लामा वेष्ट मिडफिल्डर घोषित भए । त्यस्तै अनुशासित टिम तनहु जिल्ला फुटबल संघ घोषित भएको छ । उनीहरूले जनही नगद रु १५ हजारका साथमा ट्रफी प्राप्त गरे ।

माघ ९ गतेदेखि सुरु भएको प्रतियोगितामा कास्की–११, नेपाल प्रहरी गण्डकी, गन्नी एफसी पर्वत, एन्फा तनहुँ, होराइजन क्लब स्याङ्जा, म्याग्दी जिल्ला खेलकुद विकास समिति, सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी तथा आयोजक आदर्श युवा क्लबको सहभागिता रहेको क्लबका अध्यक्ष पदम गुरुङले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close