
पोखरा स्पोर्ट्स । छैटौं एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि घरेलु टोली गण्डकी प्रदेश भलिबल संघ र पर्वत जिल्ला भलिबल संघ भिड्ने भएका छन् ।
शुक्रबार सम्पन्न लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई ३–२ सेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा गण्डकीका लागि पाकिस्तानी खेलाडी फरहद राजा उत्कृष्ट प्रदर्शन गर्दै चम्किए । निर्णायक खेलमा पुलिसलाई निराश पार्दै गण्डकीले २५–२१, २२–२५, २५–२२, २३–२५ र १५–१३ को सेट स्कोरमा जित हात पार्यो ।
सिंगल राउण्ड रोबिन प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगितामा यो खेल दुवै टिमका लागि अत्यन्तै महत्वपूर्ण थियो । अंक तालिकामा पर्वतको १० अंक रहँदा गण्डकी र नेपाल पुलिस क्लबको समान ९–९ अंक थियो । नेपाल पुलिस क्लबलाई फाइनलमा पुग्न गण्डकीलाई सोझो सेटमा पराजित गर्नुपर्ने अवस्था थियो, तर गण्डकीले खेल जित्दै फाइनल समीकरण परिवर्तन गरिदियो ।
लिग चरणमा समान ५–५ खेल जितेका तीन टिममध्ये सेटको आधारमा फाइनल टुंगो लागेको हो । कुल १३ सेट जित्दै पर्वत जिल्ला भलिबल संघ फाइनलमा प्रवेश गर्दा ११ सेट जितेको नेपाल पुलिस क्लब भने तेस्रो स्थानका लागि नेपाल आर्मी क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अनुसार शनिबार तेस्रो स्थानका लागि नेपाल पुलिस क्लब र त्रिुभवन आर्मी क्लब भिड्ने छन् भने भोली नै उपाधि भिडन्त गण्डकी र पर्वतका बीच हुनेछ । भोली हुने फाइनलमा पर्वतले गण्डकीलाई उपाधि भिडन्तमा रोक्न कस्तो रणनिती तयार गर्छ त्यो भने भोली हुने स्पर्धाले स्पष्ट हुनेछ ।
अब उपाधिका लागि गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघबीच हुने फाइनल खेलले दर्शकलाई रोमाञ्चक प्रतिस्पर्धाको अपेक्षा दिलाएको छ।

