ओसीए साइडलाइनमा दक्षिण एसियाली ओलम्पिक बैठक, १४औँ साग मार्च २०२७ मा

पोखरा स्पोर्ट्स । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को ४६औँ महासभाको अवसरमा उजबेकिस्तानको ताश्कन्दमा दक्षिण एसियाली देशहरूका राष्ट्रिय ओलम्पिक कमिटीहरूको साइडलाइन बैठक सम्पन्न भएको छ ।

सम्पन्न बैठकले १४औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता २३ देखि ३१ मार्च २०२७ सम्म आयोजना गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरेको छ । बैठकले तय मिति आवश्यक परेमा एक हप्तासम्मको समय लचिलो रूपमा परिवर्तन गर्न सकिने पनि सहमति गरेको छ । साथै, यसअघि तय गरिएका खेलकुदका इभेन्टहरू भने यथावत् रहने निर्णय समेत् गरेको छ ।

१४औँ साग खेलकुद पाकिस्तानमा हुने यस अघि नै तय भएको छ । हरेक चार वर्षमा हुने साग गेम्स सन २०२३ मा हुनुपर्ने थियो ।

दक्षिण एसियाका लागि ओसीएका उपाध्यक्ष प्रिन्स जिग्येल उगेन वाङचुकको अध्यक्षतामा सम्पन्न बैठकमा बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंकाका एनओसी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

बैठकले ओसीएको अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको एच.ई.शेख जोआन बिन हमद बिन खलिफा अल थानीलाई बधाई ज्ञापन गरेको छ ।

बैठकमा दक्षिण एसियाली क्षेत्रीय सहकार्यलाई थप मजबुत बनाउने तथा क्षेत्रीय खेलकुदको दिगो भविष्य निर्माणबारे पनि छलफल गरिएको थियो ।

यसैबीच, पाकिस्तानले सदस्य राष्ट्रहरूलाई मे २०२६ मा भ्रमणका लागि आमन्त्रण गर्दै खेलकुद प्रतियोगिताको तयारीको समीक्षा र थप परामर्श गर्ने प्रस्ताव राखेको छ । उक्त बैठकमा नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठ सहभागी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close