कास्की एकदिवसीय क्रिकेट : कास्की क्रिकेट क्लबको ३५० रनको रेकर्ड ब्रेक जित

पोखरा स्पोर्ट्स । कास्की जिल्ला क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा कास्की क्रिकेट क्लबले ऐतिहासिक प्रदर्शन गर्दै रेकर्ड ब्रेक जित हासिल गरेको छ । सम्पन्न खेलमा कास्की क्रिकेट क्लबले गण्डकी स्पोर्ट्स क्लबलाई विशाल ३५० रनको अन्तरले पराजित गर्दै प्रतियोगिताकै सबैभन्दा ठूलो जितको कीर्तिमान कायम गरेको हो ।

टस जितेर फिल्डिङ रोजेको गण्डकी स्पोर्ट्स क्लबविरुद्ध ब्याटिङमा उत्रिएको केसीसीले ४६.६ ओभरमा सबै विकेट गुमाउँदै ३८३ रनको विशाल योगफल खडा गर्‍यो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बनाइएको हाल सम्मकै सर्वाधिक रन समेत हो ।

कास्की क्रिकेट क्लबले लागि सोहेल कुँवरले ९२ बलमा १०९ रनको उत्कृष्ट शतक प्रहार गर्दा अर्जुन कुमालले ६४ बलमा १०५ रनको आक्रामक शतक पूरा गरे । सफल श्रेष्ठले ६५ बलमा ६० रनको योगदान दिए ।

गण्डकी स्पोर्ट्स क्लबका बलरमध्ये दिक्सन आर्याल ८ ओभरमा ५५ रन दिएर ३ विकेट लिंदा र अनिश पोखरेल १० ओभरमा ७२ खर्चिएर ३ विकेट लिए ।

३८४ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी स्पोर्ट्स क्लबको ब्याटिङ पूर्ण रूपमा धरासायी हुँदै ११.५ ओभरमै ३३ रनमा अलआउट भयो ।  टिमका लागि सुरज अधिकारीले १८ बलमा ६ रन बनाए भने अन्य ब्याटर दोहोरो अंक छुन समेत सकेनन् ।

कास्कीका बलर विश्वास पराजुलीले घातक बलिङ गर्दै ४.५ ओभरमा मात्र ११ रन खर्चेर ७ विकेट लिँदै खेलकै ऐतिहासिक प्रदर्शन गरे । उनलाई नितेश गिरीले ५ ओभरमा २ मेडनसहित ५ रन खर्चेर २ विकेट लिएर उत्कृष्ट साथ दिए ।

यस खेलमा शानदार शतक प्रहार गरेका सोहेल कुँवर ‘प्लेयर अफ द म्याच’ घोषित भए । आयोजक कास्की जिल्ला क्रिकेट संघका अनुसार यस खेलमा बनेको रनसंख्या र जितको अन्तर प्रतियोगिता मात्र नभई कास्कीको इतिहासमै रेकर्ड ब्रेकिङ प्रदर्शन रहेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close