
पोखरा स्पोर्ट्स । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन भइरहेको कास्की जिल्ला क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत आइतबार दुई खेल सम्पन्न भएका छन् । लेखनाथस्थित इडेन हेभन क्रिकेट मैदानमा भएको पहिलो खेलमा राइजिङ पोखरा क्रिकेट क्लबले लेकसाइड क्रिकेट क्लबलाई ६७ रनले पराजित गरेको छ भने दोस्रो खेलमा पोखरा क्रिकेट क्लबले लेखनाथ युथ क्रिकेट क्लबलाई १ विकेटको झिनो अन्तरले हराएको छ ।
पहिलो खेलमा टस जितेर फिल्डिङ रोजेको लेकसाइड क्रिकेट क्लबले राइजिङ पोखरा क्रिकेट क्लबलाई २२ ओभरमै १११ रनमा अलआउट गरायो । राइजिङका लागि अनिल गुरुङले ४५ बलमा ३१ रन, कृष्ण पौडेलले २२ बलमा २९ रन तथा रौनक झाले २७ बलमा २० रनको योगदान दिए । लेकसाइडका बलरहरू बिकास पाठक र सन्देश शाहीले समान ३–३ विकेट लिए भने निरज ढकालले २ विकेट हात पारे ।
१११ रनको लक्ष्य पछ्याएको लेकसाइड क्रिकेट क्लब १६.१ ओभरमै ४४ रनमा समेटियो । टिमका लागि मोहमद तौकीर रिजाले २१ बलमा १८ रन तथा सुमित रौनियारले २८ बलमा ९ रन जोडे । राइजिङका अञ्जन केसीले घातक बलिङ गर्दै ८ ओभरमा ४ मेडनसहित मात्र ५ रन खर्चेर ६ विकेट लिए । कृष्ण पौडेल र समीर भुजेलले समान १–१ विकेट लिए । उत्कृष्ट प्रदर्शन गरेका अञ्जन केसी प्लेयर अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा लेखनाथ युथ क्रिकेट क्लबले टस जितेर ब्याटिङ गर्दै ३३.४ ओभरमा १२४ रन बनाउँदै अलआउट भयो । टोलीका राजकुमार छन्त्यालले ३१ बलमा ३० रन, साहिल पौडेलले ३८ बलमा २२ रन तथा देव यादवले ३२ बलमा १७ रन जोडे । पोखरा क्रिकेट क्लबका सुरजन गुरुङले ४ विकेट लिँदै उत्कृष्ट बलिङ गरे भने देव शाह र प्रजोल पौडेलले समान २–२ विकेट लिए ।
१२५ रनको लक्ष्य पछ्याएको पोखरा क्रिकेट क्लबले ३३ ओभरमा १० विकेट गुमाउँदै १२६ रन बनाउँदै खेल जित्यो । टिमका लागि आतिफ मियाँले ४९ बलमा २१ रन, मुस्कान थापाले १६ बलमा २० रन तथा सुवास भण्डारीले १९ बलमा २० रनको योगदान दिए । पोखरा क्रिकेट क्लबका साहिल पौडेल र सुवास बस्तोलाले समान ३–३ विकेट लिए ।
४ विकेटसहित निर्णायक भूमिका खेलेका सुरजन गुरुङ प्लेयर अफ द म्याच घोषित भए ।
