पोखरामा सम्पन्न ‘गोर्खा हिल युके’ गल्फमा क्याडीहरूको उत्साहपूर्ण प्रतिस्पर्धा, सुशिल सुनार बने च्याम्पियन

पोखरा स्पोर्ट्स । गोरखा हिल युकेको मुख्य प्रायोजनामा आइतबार हिमालयन गल्फ कोर्षमा आयोजित क्याडी गल्फ प्रतियोगिता उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ । गल्फ क्याडीहरूको क्षमता अभिवृद्धि र हौसला बढाउने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगितामा सुशिल सुनार समग्र उपाधि जित्न सफल भएका छन् ।

को हुन मुख्य प्रायोजक चन्द्र गुरूङ 
स्याङजा जिल्ला सातसय कोल्मा अन्तर्गत तत्कालिन ओरेष्टे गाउँपालिका वडा नं २ सिरानघार (हाल पुतलीबजार नगर पालिका) जन्मिएका चन्द्र बहादुर गुरुङ फोक्सटन केन्टको पहिलो नेपाली किराना पसल सञ्चालक हुुन् । गोर्खा हिल सञ्चालनमा ल्याएका उनले हरेक वर्ष पोखरामा क्याडीहरूको प्रतियोगिता सञ्चालन गर्दै आएका छन् । आफू पनि उनी गल्फका सिनियर खेलाडी हुन् । खेलकुद र समाजसेवामा सर्मपित गुरूङले कोभिड–१९ को समयमा सात महीना नेपाल बस्दा उनले दैनिक झण्डै १५० जनालाई भोजन वितरण गर्दै मानवीय सेवामा अनुकरणीय उदाहरण प्रस्तुत गरेका थिए ।

१८ होलको पार ६९ को कोर्षमा प्रतिस्पर्धा गरेका सुनारले ७३ स्कोर (४ओभर) बनाउँदै पहिलो स्थान सुरक्षित गरे । उपाधिसँगै उनले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । कडा प्रतिस्पर्धाबीच एक स्ट्रोकले पछि परेका समीर गुरुङ दोस्रो स्थानमा रहे भने ७९ स्कोर बनाएका सन्दीप सुनार तेस्रो स्थानमा चित्त बुझाए ।

समूह ‘बी’ अन्तर्गतको प्रतिस्पर्धामा अमृत परियार ८४ स्कोरसहित विजेता बने । गंगाराम परियार दोस्रो तथा रोहित विक तेस्रो स्थानमा रहे । 

जुनियर क्याडीहरूका लागि छुट्टै प्रतिस्पर्धा पनि आकर्षणको केन्द्र बन्यो । राहुल परियार, सुमित विक र अश्विन नेपाली क्रमशः प्रथम, द्वितीय र तृतीय बने । महिला क्याडी तर्फ अस्मिता विक विजेता भइन् भने अन्जना परियार दोस्रो स्थानमा रहिन् ।

व्यक्तिगत विधातर्फ समीर गुरुङले ‘लङ्गेस्ट ड्राइभ’ र सुशिल विकले ‘क्लोजेस्ट टु द पिन’ को पुरस्कार हात पारे ।

विजेतालाई गोरखा हिल युकेका चन्द्र गुरुङ, शान्ता गुरुङ, सह–प्रायोजक गीता गुरुङसहित विभिन्न अतिथिले पुरस्कार प्रदान गरेका थिए ।  प्रतियोगितामा ३० जना क्याडीको सहभागिता रहेको थियो भने सहभागी अन्य १९ क्याडीलाई सान्त्वना स्वरूप नगद १–१ हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ ।

क्याडीहरूकै लागि समर्पित यो प्रतियोगिताले पोखराको गल्फ समुदायमा थप उत्साह र प्रेरणा थपेको आयोजकको विश्वास छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close