
पोखरा स्पोर्ट्स । पोखरामा जारी एनसेल छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८२ अन्तर्गत चौथो दिन (सोमबार) महिला र पुरुषतर्फका तीन रोमाञ्चक खेलहरू सञ्चालन हुँदैछन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगिताहरु थप रोमाञ्चक बन्दै गएका छन् । सिंगल राउन्ड रोविन लिगका आधारमा सञ्चालन भइरहेको प्रतियोगिताको चौथो दिन महिलातर्फ एक र पुरुषतर्फ दुई खेल सञ्चालन हुने संस्थाका सचिब डिबी नेपालीले जानकारी दिएका छन् ।
उनका अनुसार बिहान १० बजे दुई विभागिय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोली उपाधि दावेदार मानिँदा यो खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
त्यसैगरी पुरुषतर्फ मध्यान्ह १२ बजे एपीएफ क्लब र माल्दिभ्स क्लब, माल्दिभ्स बीच खेल हुनेछ । अन्तर्राष्ट्रिय टोली माल्दिभ्स क्लबको सहभागिताले प्रतियोगितालाई थप आकर्षक बनाएको छ । मालदिभ्सले आफ्ना दुई खेल गुमाएको छ भने एपिएफ एकमा जित र एकमा हारको सामना गरेको छ ।
चौथो दिनकै अर्को पुरुष खेलमा घरेलु टोली गण्डकी प्रदेश भलिबल संघ र नेपाल आर्मी क्लब आमनेसामने हुनेछन् ।
पोखरामा सञ्चालन भइरहेको प्रतियोगितामा दर्शकहरूको उल्लेखनीय उपस्थितिसँगै प्रतियोगिताले पोखराको खेलकुद वातावरणलाई थप उत्साहित बनाएको छ ।
नेपाल भलिबल संघको स्वीकृतिमा जारी प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ गरी कुल ११ टिम सहभागी छन् । छैटौं संस्करणमा विदेशी टिमको सहभागिता मुख्य आकर्षणका रूपमा रहेको छ ।
महिलातर्फ थाइल्याण्ड क्विन्स,थाइल्याण्ड तथा पुरुषतर्फ माल्दिभ्सको टिम प्रतिस्पर्धामा छन् । नेपाली क्लबतर्फ महिला समूहमा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र टिप–टप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब सहभागी छन् ।
पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघ रहेका छन् ।
प्रतियोगिताका महिला तथा पुरुष दुवै समूहका विजेताले समान पुरस्कार प्राप्त गर्नेछन् । प्रथम हुने टोलीले नगद रु ६ लाख ६६ हजार ६६६, दोस्रोले रु ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोलीले रु २ लाख ६ हजार ६६६ रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीलाई रु २६ हजार ६६६ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । विधागत उत्कृष्ट खेलाडीहरूलाई नगद रु ११ हजार ६६६ सहित उपहारको व्यवस्था गरिएको छ ।
