
पोखरा स्पोर्ट्स । छैटौं एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लबस्तरीय आमन्त्रण पुरुष तथा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत तेस्रो दिनको महिला तर्फको खेलमा थाइल्यान्ड क्विन्सले नेपाल पुलिस क्लबलाई रोमाञ्चक पाँच सेटको खेलमा पराजित गरेको छ ।
थाइल्यान्ड क्विन्सले नेपाल पुलिस क्लबलाई ३–२ सेटले हरायो। खेलमा नेपाल पुलिसले पहिलो दुई सेट २५–२२ र २५–२० ले आफ्नो पक्षमा पारे पनि थाइल्यान्ड क्विन्सले उत्कृष्ट पुनरागमन गर्दै तेस्रो सेट २५–२३, चौथो सेट २५–१४ तथा निर्णायक पाँचौँ सेट १६–१४ ले जित हात पार्यो।
यससँगै प्रतियोगितामा थाइल्यान्ड क्विन्सले आफ्नो पहिलो जित दर्ता गरेको छ । यसअघि थाइल्यान्ड क्विन्स एपीएफ क्लबसँगको खेलमा पराजित भएको थियो। सिंगल राउण्ड रोबिन लिग अन्तर्गत थाइल्यान्ड क्विन्सले हालसम्म दुई खेल खेलेको छ । त्यस्तै दुई खेल खेलेको पुलिसले एक खेल जितेको छ |
महिला तर्फको लिग चरणका खेलहरू अझै बाँकी रहेकाले सेमिफाइनल प्रवेशका लागि टोलीहरूबीच प्रतिस्पर्धा थप रोचक बन्दै जाने अपेक्षा गरिएको छ।
