
पोखरा स्पोर्ट्स । एनसेल छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८२ अन्तर्गत भोली माघ ११ गते (आइतबार) चार खेल हुनेछन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगिताको तेस्रो दिन चार खेल हुने सचिब डिबी नेपालीले जानकारी दिएका हुन् । प्रतियोगिता अन्तर्गत महिलातर्फ २ र पुरुषतर्फ २ गरी चार खेल हुनेछन् ।
सिंगल राउण्ड रोबिन लिग अन्तर्गत आइतबार बिहान ८ः३० बजे सुरु हुने महिलातर्फको पहिलो खेलमा विभागिय टोली नेपाल एपिएफ क्लबले टिपटप न्यू डायमण्डको सामना गर्ने छ भने बिहान १०ः०० बजे महिलातर्फको दोस्रो खेलमा नेपाल पुलिस क्लबले पाहुना टोली थाइल्याण्ड क्विन्ससंग प्रतिस्पर्धा गर्नेछ ।
त्यसै गरी आइतबार मध्यान्ह पछि पुरुषतर्फका दुई खेल सञ्चालन हुनेछन् । दिउसो १२ः३० बजे पर्वत जिल्ला भलिबल संघ र एपिएफ क्लबका बीच हुनेछ भने दोस्रो खेल २ः३० बजे दुई विभागिय टोली नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लब आमने सामने हुनेछन् ।
नेपाल भलिबल संघको स्वीकृतिमा जारी प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ गरी कुल ११ टिम सहभागी छन् । छैटौं संस्करणमा विदेशी टिमको सहभागिता मुख्य आकर्षणका रूपमा रहेको छ ।
महिलातर्फ थाइल्याण्ड क्विन्स,थाइल्याण्ड तथा पुरुषतर्फ माल्दिभ्सको टिम प्रतिस्पर्धामा छन् । नेपाली क्लबतर्फ महिला समूहमा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र टिप–टप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब सहभागी छन् । पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघ रहेका छन् ।
प्रतियोगिताका महिला तथा पुरुष दुवै समूहका विजेताले समान पुरस्कार प्राप्त गर्नेछन् । प्रथम हुने टोलीले नगद रु ६ लाख ६६ हजार ६६६, दोस्रोले रु ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोलीले रु २ लाख ६ हजार ६६६ रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई रु २६ हजार ६६६ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । विधागत उत्कृष्ट खेलाडीहरूलाई नगद रु ११ हजार ६६६ सहित उपहारको व्यवस्था गरिएको छ ।
