
पोखरा स्पोर्टस । मदन भण्डारी स्पोर्टस् एकेडेमीले आयोजना गरेको लुम्बिनी पिस हाफ म्याराथनको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका दिपक अधिकारी र महिलातर्फ नेपाल प्रहरीकी राजपुरा पछाईले जितेका छन् । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा बिहीबार आयोजित हाफ म्याराथन पुरुषतर्फ आर्मीका अधिकारीले १ घन्टा ६ मिनट २ सेकेन्डमा दौड पुरा गरी उपाधि जितेका हुन् । उनले उपाधि संगै नगद १ लाख ५० हजार हात पारे ।

यता महिलातर्फ प्रहरीकी राजपुराले १ घन्टा २४ मिनेट २ सेकेन्डमा पुरा गरी महिलातर्फ उपाधि जितिन् उनले १ लाख ५१ हजार रुपैयाँ प्राप्त गरिन् । “शान्ती र समृद्धिका लागि खेलकुद” भन्ने नाराका साथ सम्पन्न प्रतियोगितामा पुरुषतर्फ एपीएफका गोपीचन्द्र पार्कीले १ घण्टा ६ मिनेट ४६ सेकेन्डमा दुरी पूरा गर्दै दोश्रो भए । उनले नगद ७५ हजार हात पारे ।
त्रिभुवन आर्मीका मुकेश पाल १ घन्टा ७ मिनेट १५ सेकेन्डमा दुरी पार गर्दै तृतीय हुँदा त्रिभुवन आर्मीकै नरेन्द्र रावल १ घन्टा ८ मिनेट १५ सेकेन्डमा दुरी पार गर्दै चौथो हुन सफल भए । उनीहरुले क्रमशः नगद ५० हजार ३० हजार प्राप्त गरे ।
पुरुषतर्फ नै पाँचौ, छैटौं, सातौं, आठौं, नवौं र दशौंस्थानमा क्रमश आर्मीका नरेन्द्र रावल, आर्मीकै मोहनदेव जोशी, एपिएफका राजेन्द्र तामाङ, आर्मीका जितेन्द्र दनुवार, आर्मीका प्रेम बहादुर बस्नेत र आर्मीका टंक कार्की भएका छन् । पाँचौ, छैटौं, र सातौंले क्रमश नगद ३० हजार, २० हजार, १० हजार, ७ हजार र अन्यले नगद ५–५ हजार संगै प्रमाणपत्र तथा मेडल प्राप्त गरेका छन् ।
यता महिलातर्फ एपीएफकी विन्द्रा धान्के श्रेष्ठ १ घण्टा २६ मिनेट ७ सेकेन्डमा दुरी पूरा गर्दै द्वितीय भइन् । नेपाल प्रहरीका रेखा विष्ट १ घन्टा २६ मिनेट ११ सेकेन्डमा दुरी पार गर्दै तृतीय र त्रिभुवन आर्मीका पूर्णलक्ष्मी १ घन्टा २८ मिनेट ३३ सेकेन्डमा दुरी पार गर्दै चौथो भइन् । उनीहरुले क्रमश नगद ७५ हजार र ५० हजार र ३० हजार हात पारे ।
यस्तै, महिलातर्फ नेपाल प्रहरीका राममाया बुढा चौथो र एपीएफका आशा रावल छैटौं भए । त्रिभुवन आर्मी क्लबका निर्मला केसी सातौं, सुर्खेतकी विन्दु हमाल आठौं स्थानमा रहँदा त्रिभुवन आर्मीकी निर्मला पुन नवौं र शारदा शाही दशौं स्थान बनाउन सफल भए । पाँचौ, छैटौं, र सातौंले क्रमश नगद ३० हजार, २० हजार, १० हजार, ७ हजार र अन्यले नगद ५–५ हजार संगै प्रमाणपत्र तथा मेडल प्राप्त गरेका छन् ।
लुम्बिनीको मायाँ देवी परिसरबाट सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन एकेडेमीका संरक्षक तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुद्ध जन्मस्थलमा रहेको शान्ति दीपमा दिप प्रज्वलित गरी गरेका थिए ।
यता विजेता खेलाडीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण तथा एकेडेमीको दोश्रो राष्ट्रिय भेलालाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय खेलकुद दिवसको आफ्नै छुट्टै महत्व रहेको बताए । उनले भने–“आजको दिन सातै महादेशमा यो दिवस मनाईएको छ । एकेडेमीले नेपालमा विश्वको शान्तीस्थलबाट विश्वको खेल अभियानमा सन्देश प्रवाहित गर्ने गरी यो कार्यक्रम आयोजना गर्नुले पनि यसको महत्व बढेको छ ।”
खेलकुदको विकासका लागि सरकार गम्भिर हुनुपर्ने कुरा औंल्याउँदै पूर्व प्रधानमन्त्री ओलीले खेलकुदबाटै विश्वमा आर्थिक प्रगती संगै शान्ती र समृद्धि समेत प्राप्त हुने बताए । खेलकुदको इतिहासबारे चर्चा गर्दै नेपालको भौगोलिक विशिष्टताका कारण अझै उचाई प्राप्त गर्नेमा आफू विश्वस्त रहेको उनको भनाई थियो । “खेलकुद शारिरिक तन्दुरुस्तीका लागि मात्रै नभई यसको क्षेत्र व्यापक भएको छ । खेलकुद रोजगार संग जोडिएको छ । खेलकुद शान्ती मात्रै नभई विकास संग जोडिएको छ । खेलकुदले राष्ट्रिय पहिचान संगै मित्रता र आत्मियता जोड्ने तथा सामाजिक क्षेत्रमा समेत गहिरो छाप छोडेको छ,”उनले भने–”खेलकुदले राजिनितक संस्कार समेत सिकाउन सहयोग पुग्छ ।”
कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व मन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले खेलकुदका आधुनिक पूर्वाधार विकासका लागि एकेडेमीले अगुवाई गर्न आग्रह गर्दै खेलाडीलाई राष्ट्र निर्माणमा जोडनु पर्ने कुरा औंल्याए । उनले भने–“खेलकुदको क्षेत्रबाट राष्ट्रिय गौरवको अभृवृद्धीका लागि बहुदलिय जनवादको मुख्य सार रहेको छ । खेलाडीलाई राष्ट्र निर्माणमा जोड्ने संगै सामाजिक विकासको रुपान्तरणका लागि समेत यसको महत्व छ ।”
मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष ध्रुव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा एकेडेमीकी उपमहासचिव सूवर्ण श्रेष्ठले समेत आफ्नो भनाई राखेकी थिइन् ।
कार्यक्रममा विभिन्न मार्शल आर्टका खेलाडीहरुले प्रदर्शनी खेलहरु प्रस्तुत गरेका थिए भने सांस्कृति तथा सांगेतिक कार्यक्रमहरु समेत भएका थिए ।
