
पोखरा स्पोर्ट्स । कास्की जिल्ला क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत लेकसाइड क्रिकेट क्लब र सांग्रिला क्रिकेट क्लब बीच भएको खेलमा सांग्रिलाले शानदार जित हात पारेको छ ।
टस जितेर लेकसाइड क्रिकेट क्लबले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सांग्रिला क्रिकेट क्लबले २८.१ ओभरमा सबै विकेट गुमाउँदै १८६ रन बनाएको थियो । सांग्रिलाका लागि सिब्रिन श्रेष्ठले आक्रामक ब्याटिङ गर्दै ५६ बलमा ७६ रनको उत्कृष्ट इनिङ खेले । त्यस्तै, राजु खनालले २० बलमा २३ रन तथा कुशल नेपालले ३६ बलमा ३१ रनको योगदान दिए ।
लेकसाइड क्रिकेट क्लबका बलरमध्ये चन्दन राउतले १० ओभरमा २ मेडन राख्दै ६६ रन खर्चेर ७ विकेट लिँदै प्रभावशाली प्रदर्शन गरे । सन्देश शाहीले ८.१ ओभरमा ३५ रन दिएर २ विकेट तथा विकास पाठकले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।
१८७ रनको लक्ष्य पछ्याएको लेकसाइड क्रिकेट क्लब १७ ओभरमै ५२ रनमा अलआउट हुन पुग्यो । लेकसाइडका लागि केशव सुनारले ११ बलमा १० रन बनाए भने सुमित रौनियारले १७ बलमा ६ रन बनाउँदै नटआउट रहे ।
सांग्रिला क्रिकेट क्लबका बलर भुवन रेग्मीले ७ ओभरमा २ मेडनसहित २८ रन खर्चेर ५ विकेट लिँदै खेलको धार नै परिवर्तन गरे । संजय नेपालले २ ओभरमा ३ रन दिएर २ विकेट तथा जीवन कोइरालाले १ ओभरमा २ रन खर्चेर १ विकेट लिए ।
सांग्रिला क्रिकेट क्लबले लेकसाइड क्रिकेट क्लबलाई १३४ रनले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गर्यो । खेलको प्लेयर अफ द म्याच सांग्रिला क्रिकेट क्लबका सिब्रिन श्रेष्ठ घोषित भए ।
