कास्की एक दिवसीय क्रिकेट : माछापुच्छ्रे हावी, गण्डकी ५० रनमै समेटियो

पोखरा स्पोर्ट्स । प्रधानमन्त्री कप राष्ट्रिय लिगको कास्की जिल्ला छनोट समेत रहेको एक दिवसीय क्रिकेट खेलमा माछापुच्छ्रे क्रिकेट क्लबले दबदबापूर्ण प्रदर्शन गर्दै गण्डकी क्रिकेट क्लबलाई २२१ रनको विशाल अन्तरले पराजित गरेको छ । बुधबार पोखरा क्रिकेट मैदानमा सम्पन्न खेलमा माछापुच्छ्रेले ब्याटिङ र बलिङ दुवै पक्षमा उत्कृष्ट खेल देखायो ।

२७२ रनको लक्ष्य पछ्याएको गण्डकी टोली निकै कमजोर देखियो । गण्डकीका ब्याटरहरू माछापुच्छ्रेका बलरअगाडि टिक्न सकेनन् र २१.१ ओभरमै सबै विकेट गुमाउँदै मात्र ५० रनमा समेटिन पुगे । श्रीराम प्रजापतिले ११ रन र विवेक अधिकारीले ९ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा पुग्न सकेनन् ।

माछापुच्छ्रेका बलरहरू खेलभर प्रभावशाली रहे। रितेश बरालले घातक बलिङ गर्दै ५.१ ओभरमा ३ मेडनसहित ७ रन खर्चेर ५ विकेट लिए ।  उनलाई लक्ष्मण क्षेत्रीले ५ ओभरमा २ मेडनसहित ९ रन दिएर २ विकेट र रिदम पाण्डेले ६ ओभरमा ३ मेडनसहित १४ रन खर्चेर २ विकेट लिएर राम्रो साथ दिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको माछापुच्छ्रेले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २७१ रनको बलियो योगफल तयार गरेको थियो । सुमित श्रेष्ठले जिम्मेवार र आक्रामक ब्याटिङ गर्दै १५८ बलमा १३० रनको शानदार शतकीय पारी खेले । उनलाई प्रमोद बास्तोलाले २४ रन र दिपक माझिले २३ रनको योगदान दिए ।

गण्डकीका बलरमध्ये स्रमाट अधिकारी, श्रीराम प्रजापति र अनिश पोखरेलले समान एक–एक विकेट हात पारे ।  उत्कृष्ट प्रदर्शनका लागि सुमित श्रेष्ठ ‘प्लेयर अफ दि म्याच’ घोषित भए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close