
पोखरा स्पोर्ट्स । माघ ९ गतेदेखि सुरू हुने छैटौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिताका लागि पर्बत जिल्ला भलिबल संघले आफ्नो टोली सार्वजनिक गरेको छ । पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउन लागेको पर्बतले तीन जना पाकिस्तानी खेलाडीसहित सन्तुलित र प्रतिस्पर्धी टोली मैदानमा उतार्ने तयारी गरेको छ ।

टोलीको कप्तानी जिम्मेवारी युवा खेलाडी सुवास कुँवरलाई दिइएको छ । घरेलु खेलाडीको रूपमा चिरन खड्का, पर्वत अर्माजा, सन्तोष राई, विष्णु क्षेत्री, निरुप बस्नेत, दीपक थापा, जीवन सुनार र अमृत दर्लामी टोलीमा समेटिएका छन् ।
छैटौं टाइगर कपमा बलियो दावेदारी प्रस्तुत गर्ने लक्ष्यसहित पर्बतले अन्तर्राष्ट्रिय अनुभव थप्दै तीन जना पाकिस्तानी खेलाडीलाई समेत टोलीमा भित्राएको छ । पाकिस्तानी खेलाडीहरूमा दीन फखर उद्, नाभिद मुहम्मद काशिफ र मुवाशर राजा रहेका छन् । उनीहरू आजै पोखरा आइपुगेका छन् ।
टोलीको मुख्य प्रशिक्षकमा लक्ष्मण श्रेष्ठ, सहायक प्रशिक्षकमा युवराज भण्डारी, टिम व्यवस्थापकमा जगदिश सुवेदी र फिजियोथेरापिस्टमा विवेक बाबु रहेका छन् ।
युवा तथा अन्तर्राष्ट्रिय खेलाडीको सन्तुलित संयोजनले पर्बत जिल्ला भलिबल टिमलाई यसपटक टाइगर कपको बलियो दावेदार बनाएको मुख्य प्रशिक्षक लक्ष्मण श्रेष्ठले बताएका छन् ।
