
पोखरा स्पोर्ट्स । छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगितामा यतिबेला पाकिस्तानी खेलाडी भित्र्याउने होड नै चलेको छ । पर्वत जिल्ला भलिबल संघले आफ्नो टिममा तीन जना पाकिस्तानी खेलाडी समावेश गरेसँगै गण्डकी प्रदेश भलिबल टिमले पनि तीन पाकिस्तानी खेलाडीलाई टिममा भित्र्याएको छ ।
माघ ९ गतेदेखि पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सुरु हुने प्रतियोगिताका लागि गण्डकी प्रदेश टिममा फहाद रजा, अदमान खान मुस्तफा र अदनान खानलाई समावेश गरिएको गण्डकी प्रदेश भलिबल संघले जनाएको छ ।
प्रतियोगिता सुरु हुन अब तीन दिन मात्र बाँकी रहँदा माल्दिभ्सको विदेशी क्लबबाहेक अन्य टिमहरू भने पोखरा आइपुगेका छैनन् । माल्दिभ्स टिमले भने लगातार दुई दिनदेखि नियमित अभ्यास गरिरहेको छ । यता गण्डकी प्रदेश भलिबल संघले भने आफ्नो सम्पूर्ण टिमको आधिकारिक नामावली अझै सार्वजनिक गरेको छैन ।
गण्डकी भलिबल संघका कार्यबाहक अध्यक्ष राजेन्द्र जिशीले गण्डकीको टिमका बारेमा सम्पूर्ण व्यवस्थापन गर्न गण्डकीका मुख्य प्रशिक्षक रमेश केसीलाई दिएको बताए । तीन जना पाकिस्तानी खेलाडी नेपाल आइपुग्दा समेत कुन–कुन खेलाडी टिममा समावेश गर्ने भन्दा पनि प्रदेश भलिबल संघलाई टिमको खर्च जुटाउनेतर्फ बढि ध्यान केन्द्रित गर्नु परेको उनको भनाई छ । कावा अध्यक्ष जिशीले विदेशी खेलाडीसहितको ठूलो खर्च धान्न सहयोग जुटाउन सबै संघका पदाधिकारीहरु लागि परेको पोखरा स्पोर्ट्सलाई बताए ।
