पोखरामा चैत ५ देखि ‘नेपाल खुल्ला प्याराग्लाइडिङ च्याम्पियनसिप’, तयारी अन्तिम चरणमा

पोखरा स्पोर्ट्स । चार वर्षपछि पोखरामा पुनः एफएआई–२ क्याटोगरी अन्तर्गत ‘नेपाल खुल्ला प्याराग्लाइडिङ च्याम्पियनसिप’ आयोजना हुने भएको छ । कोभिड–१९ महामारी तथा विभिन्न कारणले स्थगित रहेको प्रतियोगिताको २१औँ संस्करण यहि चैत ५ देखि ७ गतेसम्म पोखरामा सञ्चालन हुने नेपाल हवाई खेलकुद संस्था (ना) ले आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

प्रतियोगितामा नेपालसहित हालसम्म ७ देशका करिब १०० जनाको सहभागिता रहने प्रतियोगिताका संयोजक सुनिल भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार भारत, चीन, साउदी अरेबिया, उज्बेकिस्तान, इटली र लेबनानका पाइलटहरूले पनि सहभागिताका लागि दर्ता गराएका छन् । प्रतियोगितामा ‘एक्युरेसी’ एक मात्र इभेन्ट सञ्चालन हुनेछ ।

नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष अनिल केसीका अनुसार प्रतियोगिताको टेकअफ स्थल सराङकोट र ल्याण्डिङ स्थल खपौदी रहनेछ । एक्युरेसीतर्फ व्यक्तिगत तथा टिम दुवै इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

पुरुष ओभरअल एक्युरेसीतर्फ विजेताले रु १ लाख ५० हजार, दोस्रो हुनेले रु १ लाख र तेस्रो हुनेले रु ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । महिला ओभरअलतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु ७५ हजार, रु ५० हजार र रु २५ हजार प्राप्त गर्नेछन् । टिम ओभरअलतर्फ पनि पहिलो, दोस्रो र तेस्रो हुने टोलीले क्रमशः रु ७५ हजार, रु ५० हजार र रु २५ हजार नगदसहित मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगितालाई सुरक्षित बनाउन सबै तयारी गरिएको प्रतियोगिताका सेफ्टी डाइरेक्टर योगेश भट्टराईले बताए । उनका अनुसार प्रतियोगिताको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले सहयोग गर्नेछन् ।

नेपाल पर्यटन बोर्ड गण्डकीका वरिष्ठ निर्देशक मणीराम लामिछानेले पोखरालाई इभेन्ट सिटीका रूपमा स्थापित गर्न बोर्ड योजनाबद्ध रूपमा अघि बढिरहेको बताए। उनले यस्ता गतिविधिले पोखराको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरे ।

सोलो प्याराग्लाइडिङ अनुमति र कोभिड–१९ महामारीका कारण चार वर्षदेखि स्थगित रहेको प्रतियोगिता पुनः सञ्चालन हुन लागेकोमा उत्साह छाएको नेपाल हवाई खेलकुद संस्था (ना) का महासचिव बलराम आचार्यले बताए ।

प्रतियोगिताको प्रवर्द्धकका रूपमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा महानगरपालिका रहेका छन्। साथै प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा पर्यटन परिषद्, नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) र नेपाल प्याराग्लाइडिङ पाइलट क्लब लगायत संस्थाहरूले सहयोग गरेका छन् ।

पोखरामा हाल ६० भन्दा बढी प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा छन् । यहाँ करिब ३६६ टेन्डम पाइलट र १४० सोलो पाइलट सक्रिय छन् । प्रतियोगिताले पोखराको साहसिक खेल पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने तथा आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपालले १९औँ एसियाली खेलकुदमा प्याराग्लाइडिङतर्फ रजत पदक समेत बिजेता समेत हो । पोखरामा सोलो प्याराग्लाइडिङमा भएको दुर्घटनापछि नागरिक उड्डयन प्राधिकरणले लगाएको रोकका कारण यसअघि प्रतियोगिताहरू प्रभावित बनेका थिए ।

प्रतियोगिता सम्पन्न गर्न करिब ३० लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close