‘टप अफ दि वर्ल्ड क्लासिक गल्फ प्रतियोगिता’को तयारी सुरु

पोखरा स्पोर्टस । विश्वै सर्वाधिक उचाईमा रहेको मुस्ताङस्थित लोमान्थाङ गाउँपालिकाको लोवाथाङ मुस्ताङ गल्फ कोर्षमा तेस्रो संस्करणको ‘एमेच्योर गल्फ प्रतियोगिता’को तयारी सुरु भएको छ । समुन्द्र सतहबाट ४७०० मिटरको उचाईमा अवस्थित लोवाथाङको मुस्ताङ गल्फ कोर्षमा यहि भदौ १ गते प्रतियोगिता हुने भएको मुस्ताङ गल्फले जनाएको हो ।

सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता बारे जानकारी गराउँदै गण्डकी प्रदेश सभाका पूर्व सांसद तथा मुस्ताङ गल्फ कोर्सका प्रवन्ध निर्देशक इन्द्र धारा विष्टले विश्वकै उच्च स्थान (हाइअल्टिच्यूड)मा रहेको गल्फ प्रतियोगिताको आयोजनाले सम्पूर्ण गल्फरहरुको ध्यान खिच्न सफल हुने बताएका छन् ।

“हामी लोवान्थाङ स्थित मुस्ताङ गल्फ कोर्सलाई विश्वकै उच्च स्थानमा रहेको गल्फ कोर्सको रुपमा विकास मात्रै गरेका छैनौं”, विष्टले भने–“हामी गल्फ कोर्षलाई गिनिज बुक्स अफ वर्ल्ड रेकर्डमा दर्ज गराउने प्रक्रियालाई अन्तिम चरणमा पुर्याएका छौं ।” मुस्ताङ गल्फ कोर्षले किर्तिमान तोड्ने बताउँदै उनले विश्वका गल्फरहरुलाई एक पटक यहाँ आउने र त्यसले समग्र पर्यटन क्षेत्रको ढोका खुल्ने उनको भनाई थियो ।

“हामीले प्रतियोगिताका लागि प्रतियोगिता आयोजना गरेका होइनौ । मुस्ताङ गल्फ कोर्षलाई विश्वमा चिनाउने र उनीहरुको ध्यानकृष्ट गराउने हाम्रो योजना हो । जसका कारण अन्तर्राष्ट्रियस्तरका गल्फलरको ध्यान खिच्न सफल भयौं भने यसले पर्यटन उद्योगमा नयाँ आयाम थप्ने छ”,-उनले भने । पहिलो र दोस्रो संस्करणको प्रतियोगिताले नै धेरै छनक देखाएको बताउँदै धेरै भन्दा धेरै विदेशी खेलाडीहरुको आकषर्ण समेत बढ्दै गएको उनले बताए ।

प्रतियोगितामा गैर आवाशिय नेपाली संघ (एनआरएनए), भारतलगायत काठमाण्डौ, धरान, बुटवल र पोखराका गरि ५६ जना बढि गल्फरहरुको सहभागिता हुने छ । जसमध्ये ४ महिला खेलाडीहरुले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा होल नं ३ मा इन वनको विजेतालाई याक वा सो बरावरको १ लाख नगद प्रदान गरिने छ । त्यसै गरि विजेता, उपविजेता, महिला विजेता, वेष्ट ग्रस, नियर टु दि होल, लङ ड्राइभ र वर्डिजका विजेतालाई ट्रफी प्रदान गरिने छ । प्रतियोगितामा गत वर्ष सम्पन्न दोस्रो सस्करणमा श्याम तामाङ विजेता रहेका थिए ।

प्रतियोगिता आयोजना लागि लोमान्थाङ गाउँ पालिका संगै प्रभु बैंक, सिटि एक्सप्रेस मनी चेन्जर, जर्मनी बेकरी पोखरा, सोल्टी मिनरल वाटर, लो मुस्ताङ हिमालयन रिर्सोट लगायतले सहयोग गरेका छन् ।

करिव ४ किमि क्षेत्रफलमा फैलिएको मुस्ताङ लोवान्थाङ गल्फ कोर्षमा हुने प्रतियोगिता ९ होल ह्याण्डिक्याप स्टेबल फोर्ड ढाँचामा खेलाइने प्राविधिक भु बहादुर गुरुङले जानकारी दिए ।

स्मरणिय के छ भने गत अगस्त २०२२ मा उद्घाटन गरिएको मुस्ताङ गल्फ कोर्सले २० मिलियन सदस्यता प्रतिहरुसहितको अग्रणी गल्फ पत्रिका गल्फ डाइजेस्टमा अभूतपूर्व कभरेज प्राप्त गरेकोले पनि आयोजक टोली थप उत्साहित बनेको छ । प्रवन्ध निर्देशक विष्टले गल्फ कोर्सको निर्माण आफ्नो सपना भएको बताउँदै उक्त सपना साकार हुनेमा अव धेरै कुर्न नपर्ने जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close