
पोखरा स्पोर्ट्स । गण्डकी प्रदेश फुटबल संघले गण्डकी प्रदेशभरका सबै फुटबल खेल मैदानहरुको डाटा संकलन तथा प्रदेश भित्र सञ्चालन हुने फुटबल प्रतियोगिताहरुको वर्गिकरण गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पत्र पठाएर माग गरे बमोजिम गण्डकी प्रदेश फुटबल संघले सो संकलन तथा वर्गिकरण कार्य सुरू गर्ने भएको हो ।

संघका महासचिब बिनोद गुरूङका अनुसार एन्फाले पठाएको पत्रलाई उद्धृत गर्दै गण्डकी प्रदेशका ११ वटै जिल्लामा सञ्चालन हुने फुटबल प्रतियोगिता तथा गोल्डकपको समेत वर्गिकरण गरी एन्फामा पठाउन भनेको छ । प्रदेश भित्र सञ्चालन हुने ‘क’ श्रेणीका प्रतियोगिताहरुको सिफारिस केन्द्रमा गर्न तथा अन्य जिल्ला तथा नकआउट स्तरका प्रतियोगिताहरुलाई प्रदेशबाटनै स्विकृती प्रदान गर्न पत्रमा भनिएको छ ।
गण्डकी प्रदेश फुटबल संघले एन्फाले पठाएको सोही पत्रको आधारमा ‘क’ श्रेणी बाहेकका प्रतियोगिताहरु सञ्चालन हुने जिल्ला फुटबल संघमा भएका खेल मैदानहरुको नाम, क्षेत्रफल समेत तोकेर एन्फामा रेकर्डका लागि पठाउन भनेको छ ।
महासचिब गुरूङले सोही पत्रका आधारमा संघले सबै ११ वटै जिल्लाहरुमा पत्राचार गरी खेल मैदानहरुसँगै जिल्लामा सञ्चालन हुने ‘क’ वर्गका गोल्डकप (महिला/पुरुष) सबैको जानकारी लिने तयारी समेत भइरहेको बताएका छन् । उनले भने–“एन्फाले हामीलाई सबै प्रतियोगिताहरुको स्तर र ‘क’ श्रेणीमा राख्न सकिने प्रतियोगिताहरुको बारेमा जानकारी संकलन गर्न पत्र पठाएको छ । हामी त्यो कार्य भोली बाटै सुरूवात गर्दैछौं ।”
