छैटौं टाइगर कप भलिबललाई जुरुक्क उठाउने छु–संयोजक, राजकुमार गुरूङ

पोखरा स्पोर्ट्स । उनी हुन् राजकुमार गुरूङ (कुमार) । टाइगर ग्रुप अफ पोखराका कार्यसमिति सदस्य मात्र होइन, नेपाली भलिबल क्षेत्रमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै आएका समर्पित खेल अभियन्ता । राष्ट्रिय खेल भलिबलको नेतृत्वदायी संस्था नेपाल भलिबल संघको केन्द्रीय सदस्यको जिम्मेवारी समेत बहन गरिरहेका गुरूङ यतिबेला छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको संयोजकको भूमिकामा छन् ।

प्रतियोगिता सुरु हुन अब केवल आठ दिन मात्र बाँकी रहँदा संयोजक गुरूङको दैनिकी झनै व्यस्त बनेको छ । तयारी, व्यवस्थापन, आर्थिक चुनौती, टिम व्यवस्थापनदेखि दर्शकको अपेक्षासम्म—सबै पक्षलाई सन्तुलनमा राख्नु उनको लागि सजिलो छैन । तर, चुनौतीकै बीच उनी आत्मविश्वासका साथ भन्छन्, “छैटौं टाइगर कप भलिबललाई जुरुक्क उठाउने छु ।”

गुरूङका अनुसार टाइगर कप केवल एउटा प्रतियोगिता मात्र होइन, पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबलको केन्द्र बनाउने अभियान हो । “पोखराले फुटबल, क्रिकेट, एथलेटिक्स वा म्याराथन मात्र होइन, भलिबलमा पनि आफूलाई स्थापित गर्न सक्छ भन्ने उदाहरण टाइगर कप हो,” उनले भने, “यसलाई निरन्तरता दिनु नै हाम्रो मुख्य उद्देश्य हो ।”

यस संस्करणको टाइगर कप अघिल्ला संस्करणभन्दा फरक र अझै स्तरिय बनाउने तयारी गरिएको गुरूङ बताउँछन् । सहभागी टिमहरूको गुणस्तर, खेलाडीको आकर्षक उपस्थिति, दर्शकको सहभागिता र व्यवस्थापनमा विशेष ध्यान दिइएको उनको भनाइ छ । “हामी खेलाडीलाई मात्र होइन, दर्शकलाई पनि भलिबलसँग जोड्न चाहन्छौं,” उनले थपे ।

“हामी स्तरीय बनाउने प्रयासमा छौं । तर खर्च करिब २ करोडको हाराहारीमा छ । यो हाम्रो लागि चुनौती हो,” गुरूङले थपे–“टाइगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्मा ज्यूसहित सिङ्गो टिम मेरो पछि छ । त्यसै गरी स्वदेश तथा विदेशमा रहनु हुने भलिबल प्रेमीहरु हाम्रो निरन्तर सम्पर्क र साथमा हुनुहुन्छ । नेपाल भलिबल संघ हाम्रो साथमा छ । त्यसैले पनि मलाई आत्मविश्वास जागेको छ । सबैको सहयोगले यो चुनौती हामीले पार लगाउँदै बचत रकम शिक्षा, स्वास्थ्य र सामाजिक अभियानमा समपर्ण गर्नेछौं ।”

आर्थिक पक्ष चुनौतीपूर्ण भए पनि विभिन्न संघसंस्था, प्रायोजक र स्वयंसेवकहरूको सहयोगले प्रतियोगिता सफल हुने विश्वास गुरूङको छ । “खेलप्रतिको माया र प्रतिबद्धताले नै हामीलाई अगाडि बढाइरहेको छ,” उनले भने, “यही भावनाले टाइगर कपलाई यहाँसम्म ल्याएको हो ।”

नेपाल भलिबल संघको केन्द्रीय सदस्यको हैसियतले उनले राष्ट्रिय भलिबल विकासमा टाइगर कपको योगदान उल्लेखनीय रहेको बताए । “यस्ता प्रतियोगिताले उदाउँदा खेलाडीलाई अवसर दिन्छन्, अनुभव दिलाउँछन् र राष्ट्रिय टिमका लागि आधार तयार गर्छन्,” गुरूङको भनाइ छ ।

प्रतियोगिता सफल बनाउन स्वदेश तथा विदेशमा रहेका भलिबल खेलप्रेमीहरुलाई उनले आह्वान गर्दै सो सहयोग नेपाली भलिबल खेल विकासका लागि आधार समेत तयार गर्ने उनको भनाई छ ।

आठ दिनपछि पोखरामा सुरु हुने छैटौं टाइगर कप भलिबल प्रतियोगिताले फेरि एकपटक पोखराको खेलकुद माहोल तताउने अपेक्षा गरिएको छ । संयोजक राजकुमार गुरूङको आत्मविश्वास, अनुभव र समर्पणले यो संस्करण पनि सफल हुने विश्वास खेलप्रेमीहरूले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close