पोखरा स्पोर्ट्स । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको वार्षिक खेलकुद तालिकाअनुसार चौथो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता आगामी फागुन १५ देखि १७ गतेसम्म आयोजना हुने भएको छ ।
हिसान गण्डकीका अध्यक्ष डा. रामजी शर्माले प्रतियोगिताको तयारी सुरु भइसकेको जानकारी पोखरा स्पोर्ट्सलाई दिएका हुन् । प्रतियोगितामा गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेक ९ जिल्लाका टिमहरूको सहभागिता रहनेछ । फाइनल चरणका खेल सुरु हुनु अघि सम्बन्धित सबै जिल्लामा छनोट चरणका खेलहरू सञ्चालन गरिने र त्यहाँबाट उत्कृष्ट प्रदर्शन गर्ने टिमहरू अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सञ्चालन हुनेछ । प्लस टु तर्फ, उपाधि विजेता टिमले नगद रु १ लाख र उपविजेता टिमले नगद रु ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यसैगरी कलेज (विश्वविद्यालय) तर्फ भने सोझै सहभागिता गर्न पाइने व्यवस्था रहेको अध्यक्ष शर्माले जानकारी दिए । विश्वविद्यालय तर्फको प्रतियोगितामा विजेता टिमले नगद रु २५ हजार र उपविजेता टिमले नगद रु १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, हाइस्कोरर तथा उत्कृष्ट गोलरक्षकलाई समेत विशेष पुरस्कार प्रदान गरिनेछ ।
सबिन मेमोरियलको व्यवस्थापनमा आयोजना हुने उक्त फुटसल प्रतियोगिताको तेस्रो संस्करणको उपाधि प्लस टु तर्फ गुरुकुल विद्यासदन र कलेज तर्फ इन्फोम्याटिक्स कलेजले जितेका थिए ।
पछिल्ला संस्करणहरूले विद्यार्थी तहमा फुटसलप्रतिको आकर्षण बढाउनुका साथै खेल प्रतिभा पहिचान, अनुशासन, टिमवर्क र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने आयोजकको भनाइ छ ।
प्रतियोगिताले गण्डकी प्रदेशका विद्यालय तथा कलेजस्तरीय खेलाडीहरूलाई प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्दै खेलकुद संस्कृतिको विकास र स्वस्थ जीवनशैली प्रवर्द्धन तथा युवा खेलाडी उत्पादनमा समेत उल्लेखनीय भूमिका खेल्दै आएको अध्यक्ष शर्माले बताए ।
चौथो संस्करणलाई अझ व्यवस्थित, प्रतिस्पर्धात्मक र प्रभावकारी बनाउने लक्ष्यका साथ हिसान गण्डकी तयारीमा जुटेको जनाएको छ ।
