
पोखरा स्पोर्ट्स । गण्डकी प्रदेश टेनिस संघले एक दीर्घकालीन र महत्वाकांक्षी योजना सार्वजनिक गर्दै आठ वर्षभित्रमा १० जना राष्ट्रिय स्तरका टेनिस खेलाडी उत्पादन गर्ने लक्ष्यसहित ‘ग्रो टेनिस’ कार्यक्रम सार्वजनिक गरेको छ ।
आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा संघले आर्थिक रूपले कमजोर पृष्ठभूमिका १० जना बालबालिकालाई आठ वर्षसम्म निःशुल्क र निरन्तर प्रशिक्षण प्रदान गरिने जानकारी गराएको हो ।
संघका अध्यक्ष विनोद कायस्थका अनुसार, ट्यालेन्ट हन्ट कार्यक्रममार्फत ८ देखि १० वर्ष उमेर समूहका १० जना खेलाडी छनोट गरिनेछ, जसमा ८ जना बालक र २ जना बालिकालाई प्रशिक्षणमा सहभागी गराइनेछ ।
‘यो नेपाली टेनिस इतिहासमै पहिलोपटक सुरू गरिएको दीर्घकालीन योजना हो’, कायस्थले भने, ‘एक खेलाडी उत्पादन गर्न अनुमानित लागत १० देखि १२ लाख रूपैयाँसम्म पर्नेछ । हामीले एक खेलाडी, एक प्रायोजक मोडेलमार्फत यो योजना अघि बढाएका छौं ।’
छनोट प्रक्रिया
‘ग्रो टेनिस’ अन्तर्गत ट्यालेन्ट हन्ट कार्यक्रम आगामी असार दोस्रो साताबाट सुरू हुनेछ । पहिलो चरणमा ८ देखि १२ वर्ष उमेर समूहका ४० जना बालबालिका छनोट गरिने छन् । तिनीहरूलाई ६ महिनासम्म नियमित प्रशिक्षण दिइनेछ । त्यसपछिको दोस्रो चरणमा ३० जना र अन्तिम चरणमा १० जना खेलाडीहरू छनोट गरिने संघले जनाएको छ ।
कार्यक्रममा गण्डकी विश्वविद्यालयका प्राध्यापक सोनाम लामाले ‘ग्रो टेनिस’ कार्यक्रम नेपाली खेलकुदलाई व्यवसायिक बनाउन अग्रसर हुने कदम भएको उल्लेख गरे । ‘खेलकुदमा भविष्य छ, व्यवहारमा उतार्न सक्नुपर्छ,’ उनले भने–‘यो कार्यक्रम नेपाली खेल क्षेत्रमा महत्वपूर्ण मोडल बन्न सक्छ।’
सो अवसरमा प्रदेश टेनिस संघका उपाध्यक्ष लोकबहादुर गुरुङ, महासचिव नविन चालिसे, उपाध्यक्ष विष्णु बहादुर थापा र कास्की टेनिस संघका अध्यक्ष राजकुमार गुरुङ, प्राविधिक समितिका सह–संयोजक एव पूर्व राष्ट्रिय खेलाडी कुमार अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
