
पोखरा स्पोर्ट्स । कास्की जिल्ला क्रिकेट संघको वार्षिक कार्यक्रमअन्तर्गत आयोजना हुँदै आएको कास्की जिल्ला क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिता २०८२ माघ २ देखि १६ गतेसम्म पोखरामा हुने भएको छ ।
प्रतियोगिता पोखरा रंगशालास्थित क्रिकेट मैदान र साबिक लेखनाथस्थित माछापुच्छ्रे क्रिकेट मैदानमा सञ्चालन हुने कास्की क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिएका हुन् ।
सो प्रतियोगिता प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेश टोली छनोटको आधार हुने जिल्ला छनोट प्रतियोगिता रहेको आयोजकले जनाएको छ । नेपाल क्रिकेट संघको आयोजनामा हुने प्रधानमन्त्री कपमा सहभागिताका लागि कास्की जिल्लाको टोली यही प्रतियोगिताबाट छनोट गरिनेछ ।
संघले अघिल्लो सूचनामार्फत खेलाडीसहित क्लब दर्ता तथा नवीकरणका लागि आह्वान गरेअनुसार समयसीमाभित्र पत्राचार गरेका १० क्लबलाई २ समूहमा विभाजन गरी लिग आधारमा प्रतियोगिता सञ्चालन गरिने भएको छ । एक दिवशिय फर्म्याटमा सञ्चालन हुने प्रतियोगिताबाट दुवै समूहका उत्कृष्ट टोलीहरूबीच फाइनल खेलाइने छ ।
कास्की क्रिकेट संघमा दर्ता भएका क्लबहरूले पेश गरेको नामावलीबाट १६ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक चयन गरी पौष २९ गतेभित्र प्रवेश शुल्कसहित टोली प्रवेश पाउने आयोजकको भनाई छ ।
प्रतियोगिता सफल बनाउन दुर्गा बहादुर चन्द संयोजकत्वमा तथा दिलिप अग्रहरी, चन्द्रकुमार गुरुङ, बबिन कुँवर, दीपक बराल सदस्य रहने गरी एक आयोजक समिति गठन गरिएको छ भने छनोट समितिको संयोजकमा कमल थापा रहेका छन् भने सदस्यहरूमा दिलिप अग्रहरी, दिपेश खत्री रहेका छन् । खत्रीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी समेत दिइएको छ ।
प्रतियोगितामा समूह ‘ए’तर्फ राइजिङ क्रिकेट क्लब, अरन्यज्योती क्रिकेट क्लब, साङ्ग्रिला क्रिकेट क्लब, लेकसाइड क्रिकेट क्लब, एभरेष्ट क्रिकेट क्लब रहेका छन् भने समुह ‘बी’ मा पोखरा क्रिकेट क्लब, कास्की क्रिकेट क्लब, माछापुच्छ्रे क्रिकेट क्लब, लेखनाथ क्रिकेट क्लब र गण्डकी स्पोर्ट्स क्लब रहेका छन् ।
कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सिग्देलले प्रतियोगिताले जिल्लामा क्रिकेटको स्तर उकास्न र प्रदेश तथा राष्ट्रिय स्तरका लागि प्रतिभा पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
