
पोखरा स्पोर्ट्स । केभिआर समिट च्यालेन्ज तेस्रो संस्करणको चौथो चरण अन्तर्गत शनिबार सम्पन्न दौड प्रतियोगितामा पुरुषतर्फ नेपालका मिलन कुलुङ र महिलातर्फ अमेरिकाकी सोनिया मार्टिन पहिलो भएका छन् ।
ट्रेलमान्डु नेपालको आयोजनामा भएको २५ किलोमिटरको दौडमा पुरुषतर्फ मिलनले २ घन्टा २३ मिनेट २४ सेकेन्ड समय निकाल्दै शीर्ष स्थान हात पारे । नेपालकै लोकेन्द्र राई २ घन्टा २६ मिनेट १६ सेकेन्डसहित दोस्रो र दिवाकर बुढामगर ३ घन्टा ११ मिनेट ३५ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थानमा रहे ।
महिलातर्फ अमेरिकाकी सोनिया मार्टिनले ३ घन्टा २८ मिनेट ९ सेकेन्ड समय निकाल्दै पहिलो स्थान हासिल गरिन् । सोनियाले यसअघि गत महिना सम्पन्न तेस्रो चरणमा पनि जित हात पारेकी थिइन् । एनी माइ बान ३ घन्टा ३२ मिनेट ५३ सेकेन्डसहित दोस्रो तथा बेलायतकी सेली रेबेका ४ घन्टा ४ मिनेट ३३ सेकेन्ड समयसहित तेस्रो स्थानमा रहे ।
१० किलोमिटर दौडतर्फ पुरुषमा स्विट्जरल्यान्डका सिमन डाल्चरले १ घन्टा १८ मिनेट ४८ सेकेन्ड समय निकाल्दै पहिलो स्थान जिते । नेपालका प्रेमबहादुर सुनुवार केवल पाँच सेकेन्डले पछि पर्दै दोस्रो भए भने मिङमा ग्याल्सेन शेर्पा १ घन्टा ३१ मिनेट ४३ सेकेन्डसहित तेस्रो स्थानमा रहे ।
महिलातर्फ १० किलोमिटरमा जापानकी मायुको आकुतागावाले १ घन्टा २८ मिनेट ३८ सेकेन्ड समय निकाल्दै पहिलो स्थान हात पारिन् । बेलायतकी इलियाना मारिया ड्रापर १ घन्टा ५७ मिनेट १५ सेकेन्डमा दोस्रो र अमेरिकाकी इरिका मिक्स २ घन्टा ३ मिनेट ८ सेकेन्डसहित तेस्रो भइन् ।
२५ किलोमिटरको दौड मच्छेगाउँ मातातीर्थबाट सुरु भई चन्द्रागिरी केबलकार आधार स्टेशन, चन्द्रागिरी मन्दिर, धापभञ्ज्याङ, बुद्ध स्तूप, मच्छेनारायण मन्दिर हुँदै पुनः मच्छेगाउँमै आएर सम्पन्न भएको थियो ।
प्रतियोगितामा नेपालका ६६ तथा २४ विदेशी गरी जम्मा ९० जना धावक–धाविकाको सहभागिता रहेको थियो । विजेतालाई नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि निरज श्रेष्ठ तथा नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका उपनिर्देशक राजेन्द्र तुलाधरले पुरस्कार प्रदान गरे ।
