टाइगर कप भलिबलको महाकुम्भमा सहभागी हुने अन्तिम टोलीहरू टुङ्गो लाग्यो

पोखरा स्पोर्ट्स । ‘छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२’ को महाकुम्भ नजिकिँदै जाँदा प्रतियोगितामा सहभागी हुने अन्तिम टोलीहरूको नामावली सार्वजनिक गरिएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यहि माघ ९ देखि १७ गते सम्म पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा आयोजना हुने सो प्रतियोगिताको तयारी सुरू भए सँगै सहभागि हुने महिला तथा पुरुष टोलीहरुको टुङ्गो लागेको टाइगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले पोखरा स्पोर्ट्सलाई जानकारी दिएका छन् ।

यसैबीच, टाइगर ग्रुपले पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको मर्मत, सरसफाइ तथा रङ–रोगन कार्यको थालनी गरेको अध्यक्ष शर्माले जानकारी दिए।

उनले भने, “हामीले प्रतियोगिताको तयारी सुरु गरिसकेका छौं । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्रीज्यूबाट मर्मत सम्भारका लागि आवश्यक बजेट उपलब्ध गराउने आश्वासन पनि पाएका छौं । छैटौं संस्करणमा सरकारसँगै स्वदेश तथा विदेशबाट सहयोग आउने क्रम सुरु भएको छ । सबै सहयोगीप्रति म कृतज्ञ छु। सबैको साथ र सहयोगले छैटौं संस्करण भव्य र सभ्य रूपमा सम्पन्न हुनेमा हामी विश्वस्त छौं ।”

प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ६ गरी १२ टिमको सहभागिता हुनेछ । प्रतियोगितामा पुरुषतर्फ तीन विभागिय टोली नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लबको सहभागिता हुने छ भने त्यस्तै गण्डकी प्रदेश भलिबल संघ, पर्वत जिल्ला भलिबल संघ र मालदिभ्स भलिबल एशोसिएसन क्लबको सहभागिता हुनेछ ।

यसै गरी महिलातर्फ तीन विभागिय टोली नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लबसहित एभरेष्ट भलिबल क्लब, टिपटप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब र थाइल्याण्ड क्विन्सको सहभागिता हुनेछ ।

‘छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२’ को संयोजकमा राजकुमार गुरूङ र सहसंयोजकमा डोलराज पोखरेल (डिआर) रहेका छन् भने मुल आयोजक समितिको संयोजकमा अध्यक्ष शर्मा छन् ।

प्रतियोगितालाई भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न १०७ सदस्यीय मुल आयोजक समितिसहित १४ वटा विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको सचिव डिबी नेपालीले जानकारी दिए ।

छैटौ संस्करणको च्याम्पियन हुने महिला तथा पुरूष दुबैतर्फ बिजेता टोलीले ६ लाख ६६ हजार ६६६ नगद प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु ३ लाख ६६ हजार ६६६ तथा तेस्रो हुने टिमले २ लाख ६ हजार ६६६ हात पार्नेछन् ।

यसै गरी सर्वोत्कृष्ट खेलाडीले नगद रु २६ हजार ६६६ प्राप्त गर्दा अन्य विद्यागत महिला तथा पुरुष उत्कृष्ट हुने खेलाडीले समान नगद रु ११ हजार ६६६ का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पाचौं टाइगर कप भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो भने महिलातर्फ आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close