
पोखरा, नेपाली अग्रज खेलाडीहरुको संस्था भुतपुर्व खेलाडी मञ्च नेपालको भर्चुअल (अनलइन) बैठक आज सम्पन्न भएको छ । बैठकमा कोभिड १९ सक्रमणको त्रास र नेपालमा जारी लकडाउनका समयमा खेलकुद लगाएत अन्य समसामयिक विषयमा छलफल भएको थियो ।
बैठकमा गत फागुनमा सम्पन्न १४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका बारे समिक्षा र यो वर्ष आयोजना हुने १५ औं म्याराथन बारे कसरी अघि वढ्ने बारे छलफल भएको थियो ।
मञ्चका अध्यक्ष तेज गुरुङले २५६४ को वुद्ध जयन्तीको अवसरमा सम्पुर्ण खेलकर्मीहरुलाई शुभकामना व्यक्त गर्दै, कोभिड–१९ को सक्रमणले खेलकुदमा पारेको प्रभावका विषयमा जानकारी गराउँदै भने–“कोभिड १९ ले खेलकुदमा प्रभाव पारेको छ, यो समयमा खेलकर्मीहरु अझै वढी संयमित भएर अगाडी बढ्न र समाजप्रतीको दायित्व नर्विसन आग्रह गरे ।”

बैठकमा मुख्य सल्लाहकार मेजर दिल बहादुर.गुरुङले बैठकमा मञ्चले म्याराथन आयोजना गर्दै आएपनि अन्य एथलेटिक्स तर्फका इभेन्टहरु गण्डकी प्रदेशमा आयोजनाको हिसावले कमजोर रहेकोका चिन्ता व्यक्त गर्दै भने–“हामीले एथलेटिक्सका इभेन्टहरु आयोजना गर्न सके यसले नयाँ सन्देश दिन सक्नेछ र खेलाडी उत्पादनमा समेत सहयोग पुग्नेछ ।”
सल्लाहाकार अशोक पालिखेले पोखरामा आयोजना ठुला प्रतिया्गिताहरु मध्ये आहा रारा गोल्डकप र पोखरा म्याराथन जस्ता प्रतियोगिताहरु गण्डकी प्रदेशकै गहनाका रुपमा रहेको बताउँदै त्यसको सान्दर्भिकताले अझै वढी महत्व पाएको धारणा अघि सार्दै भने–“यि दुवै प्रतियोगिताहरु जुधाएर एक महिनाको फरकमा नभई केही महिनाको फरकमा आयोजना गर्दा राम्रो हुन्छ ।” उनले गण्डकी प्रदेश सरकार र महानगरलाई आगामी बजे्टमा पोखरा म्याराथन आयोजनाको लागि सहयोग रकम बढाउनका लागि पहल गर्न मञ्चलाई आग्रह गरे ।
अनलाइन बैठकमा संस्थापक अध्यक्ष खड्ग रानाभाटले पुरस्कार राशीलाई थप गर्न सके पोखरा म्याराथनको उचाई बढ्ने र अन्तर्राष्ट्रिय खेलाडीहरुको आकर्षण समेत बढ्ने बताए । बैठकमा प्रथम उपाध्यक्ष एवम १४ औं पोखरा म्याराथनका संयोजक हरि पराजुली, द्वितिय उपाध्यक्ष दिल बहादुर गुरुङ, सचिब कृष्ण तिमिल्सिना, कोषाध्यक्ष मञ्जुलमान श्रेष्ठ, सहकोषाध्यक्ष महेश पौडेल, कार्यसमिती सदस्य दिनेश श्रेष्ठ, हरि वरुवाल, पुष्पा श्रेष्ठ, ओम गुरुङ, सल्लाहकारहरु शम्भु कार्की लगाएतले कोभिड १९ को सक्रमणले खेलकुदमा पारेको प्रभाव र आगामी म्याराथन आयोजना बारे आफ्ना धारणा राखेका थिए ।
अहिलेको विषम परिस्थितीमा अनलाइन मार्फत खेलकुदका विषयमा खुल्ला छलफल गर्ने लगाएतका विषयमा बैठकमा छलफल भएको थियो । यो बेला अझै वढी सामुहिक भावनामा रहि अघि बढ्न र खेलकुदकर्मीहरु समस्यामा रहेको भए सहयोगलाई जारी राख्न समेत सदस्यहरुले बैठकमा जोड दिएका थिए ।


