
पोखरा स्पोर्ट्स । २२औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा स्पेसियल अवार्डबाट सम्मानित तुल्सी कुमार गुरूङले आफूले प्राप्त गरेको पुरस्कार वापतको रकम पोखराका दुई वटा क्लबलाई प्रदान गरेका छन् ।

हङकङलाई कर्मथलो बनाउँदै आएका नेपालका एक मात्र तेक्वान्दो नवौं डान प्राप्त गुरूङले अवार्डबाट प्राप्त नगद रु १ लाख दुई क्लबलाई बिहिबार एक कार्यक्रमका बीच हस्तान्तरण गरे । सहारा क्लबको आसन्न २५औं आहा रारा गोल्डकपका लागि नगद रु ५० हजार आयोजक सहारा क्लबका अध्यक्ष केशव बहादुर थापा र पहिलो पटक लिगमा प्रतिनिधित्व गर्न सफल एलजी एशोसियसनका अध्यक्ष डम्बरजङ गुरूङलाई नगद रु ५० हजार उनले हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरण गर्दै स्पेसियल अवार्डबाट सम्मानित समाजसेबी गुरूङले पोखराको फुटबल विकासमा दुबै क्लबहरुको योगदान महत्वपूर्ण रहेको र दुबै संस्था पोखराको ब्राण्ड भएको उल्लेख गर्दै थप उत्साह जगाउन आफूले सो रकम प्रदान गरेको जनाए । उनले भने–“तपाई दुबै क्लबहरु गण्डकीको शान हो । ब्राण्ड हो । यहाँहरुले यहाँको फुटबल जोगाउन खेलेको भूमिका प्रशंसनिय छ । अब यहाँहरु दुबै क्लब अन्तर्राष्ट्रियस्तरमा नै परिचित हुने गरी फुटबलको क्षेत्रमा अघि बढनुस । पोखरालाई फुटबल मार्फत विश्वमा चिनाउन भूमिका खेल्न म शुभकामना दिन चाहन्छु ।”
कार्यक्रममा सहारा क्लबका अध्यक्ष थापा र एलजीका अध्यक्ष गुरूङले सहयोगका लागि आभार व्यक्त गरे ।
सो अवसरमा सहारा क्लबका सल्लाहकार सुनिल गुरूङ, सहारा क्लबका पूर्व अध्यक्ष बिक्रम थकाली, गण्डकी प्रदेश फुटबल संघका महासचिब बिनोद गुरूङ, सहारा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरूङ, एलजी एशोसियसनका प्रमुख प्रशिक्षक किरण श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
तस्विरः सुदर्शन रञ्जित
