
पोखरा स्पोर्ट्स । सातौं सृजनाकप सामुदायिक कास्की जिल्लास्तरीय छात्र/छात्रा भलिबलमा शान्ता माविले दोहोरो उपाधि जितेको छ ।
सृजना विकास केन्द्रद्वारा आयोजित सो प्रतियोगितामा शान्ता माविले छात्र/छात्रातर्फ नै उपाधि जित्न सफल भएको हो । शान्ता मावि छैटौं सस्करणमा समेत दोहोरो उपाधि जितेको थियो । बिहिबार सम्पन्न फाइनलमा छात्रतर्फ शान्ता माविले गौरीशंकर माविलाई २५–२०, २८–२६ ले पराजित गर्दा छात्रातर्फ कन्या माविलाई २५–१४, २५–१६ ले पराजित गरेको कास्की भलिबलका उपाध्यक्ष लेखनाथ लम्सालले जानकारी दिए ।

यस्तै प्रतियोगितामा छात्रतर्फ माछापुच्छ्रे माविले विरेठाँटी माविलाई २५–१७, २५–१४ ले तथा छात्रातर्फ कालिकाले छोरेपाटन माविलाई २५–१२, २५–२१ ले पराजित गरी तेस्रो स्थान हात पारेका छन् ।
प्रतियोगितामा उपाधि बिजेता छात्र÷छात्रा टिमले समान नगद रु १–१ लाख, उपविजेताले ६०–६० हजार र तेस्रो स्थान हात पार्ने दुई टिमले समान नगद रु ३५–३५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारे ।
सम्पन्न प्रतियोगितामा छात्र/छात्रातर्फ उत्कृष्ट खेलाडी शान्ता माविका समिर विक र अपेक्षा विक बने । उनीहरुले समान नगद जनही रु ५–५ हजार प्राप्त गरे भने छात्र/छात्रातर्फ शान्ता मविका दिनेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए । उनले नगद रु २ हजार प्राप्त गरे । छात्रतर्फ उत्कृष्ट सर्भर गौरीशंकरका रोशन विक, उत्कृष्ट सेटर माछापुच्छ्रेका रोहन तामाङ, उत्कृष्ट स्पाइकर गौरीशंकरका रिजन विक, उत्कृष्ट ब्लकर माछापुच्छ्रेका निश्चल विक बने भने उत्कृष्ट लिबेरो माछापुच्छ्रेका इश्वर तामाङ बन्न सफल रहे ।
त्यस्तै छात्रातर्फ उत्कृष्ट सर्भर शान्ता माविका पृथ्बी गाहा, उत्कृष्ट सेटर शान्ता माविका सृजना श्रेष्ठ, उत्कृष्ट स्पाइकर कन्या माविकी सञ्जिता फगामी, उत्कृष्ट ब्लकरमा कालिकाकी सजिना दर्जी तथा उत्कृष्ट लिबेरोमा कालिकाकी स्मारिका राना बने । उत्कृष्ट तर्फका सबै खेलाडीले एक–एक थान बल प्राप्त गरे ।
बिजेता खेलाडी तथा टिकलाई गण्डकी प्रदेश सभाका सदस्य एवं नेपाली काँग्रेसका सचेतक प्रकाश बरालले नगद, ट्रफी तथा मेडल वितरण गरेका थिए । यस अघि सो कार्यक्रममा आफ्ना भनाई राख्दै सांसद बरालले सामुदायिक विद्यालयहरुले प्रशासनिक खर्च बाहेक अब खेलकुदको विकासका लागि समेत रकम विनियोजन गर्न सुझाव दिए ।
समापन कार्यक्रम सृजना विकास केन्द्रका अध्यक्ष चन्द्र गिरीको अध्यक्षतामा भएको थियो । तीन दिन सम्म सञ्चालन भएको प्रतियोगितामा कास्कीका विभिन्न सामुदायिक विद्यालयका छात्रतर्फ १६ र छात्रातर्फ ७ गरी २३ टिमको सहभागिता रहेको थियो ।


