
पोखरा स्पोर्ट्स । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) को टी- २० विश्वकप स्थल स्थानान्तरण गर्ने अनुरोधलाई अस्वीकार गरेको छ ।
आईसीसीले बंगलादेशले आफ्ना विश्वकपका सबै लिग खेलहरू भारतमा नै यस अघि सार्बजनिक गरिएको तालिका अनुसार खेल्नुपर्ने स्पष्ट गरेको छ । साथै आइसीसीले बंगलादेशले नखेलेमा उसले अंक गुमाउने चेतावनी दिएको छ ।
बंगलादेश क्रिकेट बोर्डले मुस्ताफिजुर रहमानलाई आईपीएलबाट निकालिएपछि भारतमा आफ्ना खेलाडीहरु असुरक्षित हुनसक्ने भन्दै टी-२० विश्वकप खेलहरू भारतमा खेल्न अस्वीकार गरेको थियो । साथै बोर्डले आफ्ना खेलहरू श्रीलंकामा स्थानान्तरण गर्न आईसीसीलाई अपील गरेको थियो ।
रिपोर्ट अनुसार, आईसीसी अध्यक्ष जय शाह र अन्य अधिकारीहरू मंगलबार मुम्बईमा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) र बंगलादेश क्रिकेट बोर्डका अधिकारीहरुसँग यस विषयमा छलफल गरेका थिए ।
आईसीसीले स्पष्ट रूपमा प्रतियोगिता नजिक आइसकेका र कैयौ खेलका टिकट बिक्रि समेत भइसकेको, खेलाडी र अफिसियलका होटल र फ्लाइटका टिकटसमेत बुक भइसकेको हुनाले खेल स्थलहरूमा परिवर्तन गर्न असम्भव रहेको स्पष्ट गरेको छ ।
बंगलादेशमा पछिल्लो समय हिन्दूहरूमाथि लगातार भइरहेको आक्रमणपछि भारतमा त्यसको विरोध शुरु भएको थियो । विरोधको क्रममा बंगलादेशका खेलाडीलाई आइपिएलमा खेल्न दिन नहुने माग गरिएको थियो ।
बंगलादेशलाई टी- २० विश्वकपमा समूह सी मा रहेको छ । उसले फेब्रुअरी ७ मा वेस्ट इन्डिज, फेब्रुअरी ९ मा इटाली र फेब्रुअरी १४ मा इङ्गल्याण्डसँग सामना गर्नेछ । तीनवटै खेल कोलकाताको इडेन गार्डेन स्टेडियममा खेलिनेछ । साथै टोलीको अन्तिम समूह चरणको खेल फेब्रुअरी १७ मा मुम्बईमा नेपालसँग हुने तालिका रहेको छ ।


