
पोखरा स्पोर्ट्स । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले सोमबार पोखरामा आयोजना गरेको एनएसजेएफ स्पोर्ट्स समिटमा टि२० विश्वकपको ट्रफि प्रदर्शन गरिएको छ ।
भारत र श्रीलंकामा फेब्रुअरीमा अबको टि२० विश्वकप आयोजना हुनेछ र त्यसैक्रममा ट्रफि नेपाल आइपुगेको हो । ट्रफि सोमबार पोखराका विभिन्न स्थानसहित स्पोर्टस समिटमा समेत् प्रदर्शन गरिएको हो ।
समिटको अवसरमा प्यानल छलफल गरिएको थियो र विषय रहेको थियो, ‘पोखरामा खेल पयर्टन र अर्थतन्त्र’ ।
कार्यत्रममा विशेषज्ञका रूपमा सहभागी हुनेमा नेपाल पयर्टन बोर्डका कार्यकारी निर्देशक सुनिल शर्मा, राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव टंकलाल घिसिङ, पोखरा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अशोक पालिखे र पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपी भट्टराई रहेका थिए ।
कार्यक्रममा शर्माले पोखरामा खेलकुदको सम्भावना धेरै रहेको बताएका छन् । उनले पयर्टन प्रवर्द्धनका लागि जहिले पनि नयाँ आयाम चाहिएकोमा खेलकुद त्यो विकल्प हुन सक्ने बताए ।
राखेपका पूर्व सदस्य सचिब घिसिङले पोखराका खेल पयर्टनको विकास र विस्तार गर्न नीजि क्षेत्रको प्रत्यक्ष सहभागिता आवश्यक रहेकोमा जोड दिए । उनले यसका लागि नीति नै बनाउनु पर्ने बताए ।
यस्तै भट्टराईले पोखरामा भौतिक पूर्वाधार पर्याप्त रहेको तर त्यसलाई सुहाउँदो प्रतियोगिता नभएको गुनासो पोखे । उनले खेल प्रतियोगिता आयोजना गर्नका लागि आवश्यक समन्वय भइनरहेको दाबी गरे ।
यसै गरी पालिखेले पनि पोखरा भौतिक पूर्वाधारमा निकै धनी रहेको, तर त्यसको उपयोग भने कम भएको बताए । उनले पोखरामा जति प्रतियोगिता भएका छन्, त्यसलाई प्रोत्साहन आवश्यक रहेको सुनाए ।



