
पोखरा स्पोर्ट्स । आईसीसी टी–२० विश्वकप ट्रफी टुर अन्तर्गत विश्वकपको ट्रफी भोली (मंगलबार) पोखरा ल्याइने भएको छ। कार्यक्रमअनुसार ट्रफी टुर पोखराका विभिन्न प्रमुख स्थानमा प्रदर्शन गरिने भएको प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिएका छन् ।
कार्यक्रमअनुसार बिहान ८ः३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रफीको आगमन हुनेछ । त्यसपछि बिहान ९ः०० देखि ९ः३० बजेसम्म पोखरा रंगशालामा ट्रफी तथा खेलाडीहरूको फोटो सेसन आयोजना गरिनेछ । उक्त अवसरमा सम्बन्धित अधिकारी, खेलकुदकर्मी तथा सञ्चारकर्मीहरूको सहभागिता रहनेछ ।
बिहान १०ः०० देखि ११ः०० बजेसम्म पोखराको लेकसाइड क्षेत्रमा ट्रफी प्रदर्शनी तथा सरकारी प्रतिनिधि र सञ्चारमाध्यमसँग अन्तर्क्रिया कार्यक्रम तय गरिएको छ । त्यसपछि ११ः३० देखि १२ः१५ बजेसम्म (मौसम अनुकूल भएमा) सराङकोट वा विश्व शान्ति स्तूपातर्फ भ्रमण गराइने कार्यक्रम रहेको अध्यक्ष सिग्देलले जानकारी दिए ।
मौसम र समय मिलेको अवस्थामा बेगनास ताल पुर्याइने र ट्रफी प्रदर्शन तथा दृश्यात्मक तस्बिर खिच्ने कार्यक्रम पनि वैकल्पिक रूपमा समावेश गरिएको छ । आईसीसी टी–२० विश्वकप ट्रफीको पोखरा भ्रमणले पोखराको पर्यटन प्रवर्द्धनसँगै क्रिकेटप्रतिको आकषर्ण अझ बढ्ने विश्वास गरिएको छ।
