गण्डकीको गौरव : एनएसजेएफ पल्सर अवार्डमा १३ जित, अझै कति?

पोखरा स्पोर्ट्स । यसपटक एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पोखरामा आयोजना हुँदै गर्दा एउटा स्वाभाविक प्रश्न सबैको मनमा उठेको छ–अहिलेसम्म गण्डकी प्रदेशका खेलाडीहरूले यो प्रतिष्ठित अवार्ड कति पटक जितेका छन् ? यसको भावनात्मक उत्तर जति गर्विलो छ, तथ्यांक पनि उति नै उत्साहजनक छ ।

गणितीय रूपमा हेर्दा गण्डकीका खेलाडीले हालसम्म १३ पटक एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड जितिसकेका छन् । आगामी दिनमा यो संख्या अझै बढ्ने अपेक्षा गरिएको छ ।

नेपाली खेलकुदलाई एकपछि अर्को प्रतिभाशाली खेलाडी दिइरहेको गण्डकी क्षेत्रबाट यति धेरै अवार्ड विजेता हुनु स्वाभाविक मानिन्छ । यस यात्रामा सबैभन्दा अगाडि देखिएका नाम हुन्– भलिबलकी अरुणा शाही र फुटबलकी सावित्रा भण्डारी । दुवैले–दुवै पटक अवार्ड जितेर गण्डकीको गौरव बढाएका छन् ।

अरुणा शाहीले २०७६ सालमा पिपुल्स च्वाइस अवार्ड जित्दै पहिलो पटक इतिहास रचेकी थिइन् । त्यसपछि उनले २०७८ मा वर्षकै उत्कृष्ट महिला खेलाडीको अवार्ड जितिन् । अवार्डपछि उनले भनिन्, “दुवै अवसरमा यो सम्मानले मलाई अझ राम्रो खेलाडी बन्न प्रेरणा दियो ।”

त्यस्तै सावित्रा भण्डारी २०७५ मा वर्षकी उत्कृष्ट महिला खेलाडी घोषित भइन् भने २०७७ मा दशककै उत्कृष्ट महिला खेलाडी बनेकी छन् ।

पिपुल्स च्वाइस अवार्डमा पनि गण्डकीका खेलाडीहरूको बलियो उपस्थिति देखिन्छ । यो विधामा पहिलो पटक अवार्ड जित्ने खेलाडी पोखराकी भलिबल खेलाडी मञ्जु गुरुङ हुन्, जसले २०६६ सालमा इतिहास बनाइन् । त्यसपछि २०६८ मा भलिबलकी सिपोरा गुरुङ, २०६९ मा उसुकी झरना गुरुङ र पुनः २०७६ मा अरुणा शाही सफल भइन् । पछिल्लो पटक २०७८ मा भलिबलकी उषा भण्डारीले यो अवार्ड हात पारिन् । यसरी गण्डकीका पाँच खेलाडीले पिपुल्स च्वाइस अवार्ड जितेका छन् र संयोगवश सबै महिला खेलाडी हुन् ।

महिला उत्कृष्ट खेलाडी विधामा पनि गण्डकीको उल्लेखनीय उपस्थिति छ । भारोत्तोलनकी तारा पुनले २०६८ मा उत्कृष्ट महिला खेलाडीको अवार्ड जितिन् । ब्याडमिन्टनकी शोभा गौचन २०७४ मा उत्कृष्ट घोषित भइन् । यसरी यो महत्वपूर्ण विधामा गण्डकीका खेलाडीले पाँच पटक अवार्ड जितेका छन् ।

पुरुषतर्फ भने प्याराग्लाइडिङका युकेश गुरुङ २०७५ मा वर्षकै उत्कृष्ट पुरुष खेलाडी बने । सोही वर्ष उनका प्रशिक्षक योगेश भट्टराई उत्कृष्ट प्रशिक्षक घोषित भए ।

स्पेसल अवार्डतर्फ २०७४ मा क्रिकेटर करण केसी सम्मानित भए । त्यस्तै गण्डकीको प्रतिनिधित्व गर्दै अन्य दुईले पनि यो अवार्ड जितेका छन् । २०६४ मा आहा–रारा गोल्डकप आयोजना गर्दै आएको सहारा क्लब र २०७९ मा फोटो पत्रकार सुदर्शन रञ्जित सम्मानित भए । सुदर्शन रञ्जित गण्डकीका एकमात्र गैर–खेलाडी विजेता हुन्, जसको नेपाली खेलकुदमा योगदान उल्लेखनीय मानिन्छ ।

अब प्रश्न उही छ– यसपटक पोखरामै आयोजना हुन लागेको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा कुन कुन खेलाडीले पुरस्कार जित्नेछन् ? यही प्रश्नले यस वर्षको अवार्डलाई थप कौतुहलपूर्ण र रोमाञ्चक बनाइरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close