कर्णाली प्रदेश खेलकुद परिषदको एक वर्ष पुरा, खेलकुद क्षेत्रलाई पुनः संरचना गर्न प्रदेश प्रमुख परियारको आग्रह

पोखरा स्पोर्टस । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णालीको खेलकुद क्षेत्रलाई पुनः संरचना गर्न सुझाव दिएका छन् ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को ‘प्रथम वार्षिकोत्सव’ समारोहलाई सम्बोधन गर्दै उनले खेलकुद क्षेत्रको आधुनिक पुनःसंरचनाले उत्कृष्ट खेलाडी उत्पादन र मुलुक स्वस्थ जनशक्ति प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । “सफल खेलाडी आफैँमा अनुशासित, नैतिकवान्, सुसंस्कृत एवं स्वस्थ हुन्छ”, उनले भने, “अनुशासित र सफल खेलाडी उत्पादनले समाजलाई सभ्यताको बाटोमा पनि लम्क्याउन उत्प्ररित गर्दछ ।”

मुलुकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा चिनाउन खेल क्षेत्रको ठूलो भूमिका रहेको जनाउँदै प्रदेश प्रमुख परियारले कर्णाली प्रदेश सरकारले समग्र खेलकुदका निम्ति प्रदेशकै गौरवको आयोजना प्रदेश रङ्गशालाको निर्माण प्रारम्भ गरिसकेको समेत बताए । खेलकुद विकासका निम्ति आफ्नो क्षेत्रबाट निरन्तर पहल गर्ने बताएक उनले ‘प्रथम वार्षिकोत्सव’ समारोहबाट तमु (गुरुङ) समुदायको ल्होसार पर्वको उपलक्ष्यमा गुरुङ समुदायसहित सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव राजकुमार श्रेष्ठले खेल क्षेत्रको विकास र उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाका रुपमा १० हजार दर्शक अट्ने रङ्गशाला निर्माणको कार्य थालेको बताए । प्रमुख सचिव श्रेष्ठले भारतको मुम्बइमा भएको पावर लिफ्टिङ खेलमा पदक हासिल गर्ने कर्णालीका खेलाडीलाई रु दुई लाख पुरस्कार दिने कर्णाली मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले निर्णय गरेको बताउँदै खेलाडी प्रोत्साहन हुनेगरी आगामी बजेट छुट्याउन खोजिएको जनाए ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले अध्यादेशमार्फत खेलकुदको ऐनमा भएका त्रुटि सच्याइएको जनाउदै अझै पनि नियमावली र कार्यविधि बन्न नसकेको बताए । नियमावलीको अभावमा खेलकुदका गतिविधि अगाडि बढ्न नसके तापनि परिषद्ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रियस्तरको कभर्डहलसहित प्रदेश रङ्गशालाको काम सुरु गरेको र ३० महिनामा सम्पन्न हुने उनले विश्वास व्यक्त गरे ।

यसैगरी उनले थाइल्याण्डमा भएको एशियाको सबैभन्दा ठूलो ११० किलोमिटर लामो अल्ट्रा ट्रेल रेसमा प्रतियोगितामा महिलातर्फ प्रथम र समग्र पुरुषसहितको दौडमा तृतीय स्थान प्राप्त गरी कर्णालीसहित नेपालको नाम उँचो राख्ने जुम्लाका चेली सुनमाया बुढालाई बधाई ज्ञापन गर्दै पुरस्कार तथा सम्मानका लागि खेलकुद परिषद्ले कर्णाली प्रदेश सरकारसमक्ष सिफारिस गर्ने जनाए ।

उक्त अवसरमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएर कर्णाली तथा नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल म्याराथन धावक जुम्लाका हरिबहादुर रोकायको योगदानको उच्च प्रशंसा गरिएको छ । समारोहमा मैत्रीपूर्ण भलिबल प्रतियोगितामा विजयी पत्रकारको टोली र ब्याडमिन्टनमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीलाई पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close