
पोखरा स्पोर्ट्स । पोखरा रंगशालामा प्रवेशका लागि अब गेट नं. ६ लाई मुख्य प्रवेशद्वारका रूपमा प्रयोग गरिने भएको छ । रंगशालाको मुख्य गेट, गेट नं. १ आसपास पुल तथा सडक निर्माण कार्य भइरहेकाले उक्त गेट अस्थायी रूपमा बन्द हुने भएपछि जिल्ला खेलकुद विकास समिति कास्कीले गेट नं. ६ लाई मुख्य गेट बनाउने निर्णय गरेको हो ।

वि.सं. २०६१ मा पोखरा रंगशालाको पर्खाल निर्माणका क्रममा तमु धिं एशोसियसन युकेको सहयोगमा निर्माण गरिएको गेट नं. ६, रंगशालाको दोस्रो ठूलो गेट समेत् हो । रंगशालाको दक्षिणतर्फ, एसओएस स्कुल नजिकै रहेको यो गेट सुरक्षाका कारण लामो समयदेखि बन्द थियो ।
जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले अब गेट नं. ६ लाई मुख्य प्रवेश गेटका रूपमा प्रयोगका लागि खोलिएको जानकारी दिएका छन् । उनका अनुसार यो गेट बिहान ५ बजेदेखि राति ९ बजेसम्म खुला रहनेछ । “मर्निङ वाकमा आउने सर्वसाधारण, खेलाडी तथा दर्शक सबैलाई सहज प्रवेश होस् भनेर गेट नं. ६ मा फोकस लाइट जडान गरेका छौं । अबदेखि यही गेट प्रयोग गर्न सबैलाई आग्रह गर्दछु,” अध्यक्ष गुरुङले भने ।
सुरक्षाका लागि एक जना गार्डको व्यवस्था गरिएको र रंगशालाको उत्तरतर्फ सडक स्तरोन्नति तथा पुल निर्माणको काम तीव्र गतिमा भइरहेकाले दुर्घटनाको सम्भावना पनि रहेको भन्दै गेट नं. ६ प्रयोग गर्न अझ सुरक्षित र सहज हुने उनको भनाइ छ ।
समितिले गेट नं. ६ हुँदै आउने सडकको दायाँ–बायाँ फूलका बिरुवा रोपेर क्षेत्रलाई थप आकर्षक बनाउने योजना समेत अघि सारेको छ ।
यसैबीच, पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा पोखरा रंगशालामा पार्किङ निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त पार्किङ रंगशालाको गेट नं.२ नजिकको खाली स्थानमा निर्माण गरिनेछ ।
निर्माणाधीन पृथ्वीराजमार्ग ६ लेनको हुने र राजमार्ग क्षेत्रमा पार्किङ गर्न नपाइने प्रावधानअनुसार बुद्धचोकदेखि पृथ्वीचोकसम्मको क्षेत्रमा पार्किङ व्यवस्थापन गर्न महानगरले यो पहल गरेको हो । जिल्ला खेलकुद विकास समितिसँगको सहकार्यमा निर्माण हुने उक्त पार्किङको शिलन्यास केही दिनमै गरिने तयारी भइरहेको छ ।
