
पोखरा स्पोर्ट्स । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आइतबार पोखरा रंगशालास्थित टेनिस कम्लेक्सको अवलोकन गरेका छन् ।
पोखरामा आयोजना हुने विशेष कार्यक्रमका लागि आएका मन्त्री घिसिङले टेनिस कम्लेक्सको पूर्वाधार अवलोकन गर्दै आवश्यक फल्ड्लाइट जडानका लागि आफ्नो पहल रहने बताएका छन् । उनले पोखरा आफैमा सुन्दर र खेलकुदका लागि सम्भावना बोकेको शहर भएको बताउँदै आवश्यक पूर्वाधार निर्माण गर्न आफूले पहल गर्ने बताएका हुन् ।
“अब बजेट बनाउने प्रक्रिया सुरू हुँदैछ । चाहे फुटबल रंगशालाको होस वा टेनिस कम्लेक्सको फल्ड्लाइट जडान अबको नयाँ बजेटमा यो विषय सम्वोधन हुनेछ”–उनले पोखरा स्पोर्ट्ससंग छोटो प्रतिक्रिया दिंदै भने । टेनिस कम्लेक्समा निजि क्षेत्रले लगानी गरेको प्रति खुसी ब्यक्त गर्दै खेलकुद क्षेत्र पर्यटनका लागि सम्भाव्यता रहेको समेत जनाए । उनले भने–“अहिले बजेट प्रस्ताव गर्ने समय हो । खेलकुद क्षेत्र समेत पर्यटन विकासको महत्वपूर्ण माध्यम हो । यसले इकोनोमिक ट्रान्सफरमेशनमा समेत योगदान पुर्याउने भएकोले सरकार खेलकुदको विकासमा प्रतिवद्ध छ । हामी योजनावद्ध रुपमा अघि बढ्छौं ।”
एक महिना अघि मात्रै पोखरा रंगशालाको फुटबल स्टेडियममा पहिलो पटक भ्रमण गर्दै फ्ल्डलाइट जडान गर्न प्रतिवद्धता जनाएका थिए । उज्यालो नेपाल कार्यक्रम अन्तर्गत फ्ल्डलाइट जडान गर्न आफूले अर्थमन्त्रालय मार्फत कुरा अघि बढाउने गरी पोखरेली खेलप्रेमीहरुको मन जित्ने प्रयास गरेका थिए ।
आइतबार पोखरा रंगशालाको टेनिस कम्लेक्समा प्रवेश गर्नु अघि मन्त्री घिसिङलाई गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थ, जिल्ला टेनिसका अध्यक्ष राजकुमार गुरूङ, निवर्तमान अध्यक्ष लोक बहादुर गुरूङ, द्वितिय उपाध्यक्ष नविन श्रेष्ठ, सचिब भिष्मराज पौडेल, सल्लाहकार गोपी बहादुर भट्टराई, कोषाध्यक्ष विष्णु बहादुर थापालगायतले स्वागत गर्दै पोखराको टेनिससँगै प्रतियोगिता एवं इतिहास बारे जानकारी गराएका थिए ।


