
फागुन १५, पोखरा ।
वेगनास ताल किनारमा जारी प्रथम सेभेन ए साईड वेगनास कपमा चौथो दिन ७ खेल सम्पन्न भएका छन ।
वुधवार भएको पहिलो खेलमा नेपाल मुस्लिम एफ ‘सि’ ले नहरचोक विरुद्ध ९–२ को फराकिलो जित निकालेको थियो । मुस्लिमको जितमा अविनास तामाङले व्यक्तिगत ७ गोल गरेका थिए । प्रतियोगिताको दोश्रो खेलमा मिलनटोल क्लवले युनाइटेड युवा क्लव माथी १४–० गोलले शानदार जित निकाल्दा युनाइटेड आफ्नो पहिलो खेलमै स्तब्ध वनेको छ । मिलनटोलको जितमा अनुज भण्डारीले व्यक्तिगत १२ गोल गरेका थिए । यो संगै प्रतियोगिताको उच्च गोलकर्तामा भण्डारीले आफ्नो नाम दर्ता गराएका छन् ।
निकै प्रतिस्पर्धात्मक खेलमा टिम ब्रदर्सको उपहार १ गोलको माध्यम वाट पचभैया सि विजयी वनेको छ । प्रतियोगिताको चौथो खेलमा झरना एफ ‘सि’ माथी सैनिकले ४–० को शानदार जित हासिल गर्दा आयोजक वेगनास ‘ए’ ले लामागाउँ वि माथी पनि शुन्यका विरुद्ध ४ गोलले पराजित गरेको छ । त्यस्तै जेसिआई लेखनाथलाई नयां गाउंले १ का विरुद्ध ३ गोलले पाखा लगाउंदा मेरो नेपालले नहरचोक एफ सि लाई शुन्यका विरुद्ध २ गोलले पराजित गरेको छ ।

विजयी सम्पुर्ण टिम दोश्रो चरणमा प्रवेश गरेको प्रतियोगिता संयोजक सुरेन्द्र पुनले जानकारी दिए । यस क्षेत्रकै सर्वाधिक पुरस्कार राशी रहेको खेलमा दर्शकको उल्लेख्य साथ र सहयोग रहेको क्लवका अध्यक्ष राम वहादुर रानाभाटले वताएका छन ।
प्रतियोगिताको विजेताले नगद १ लाख ५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले नगद ५५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने तेश्रो पुरस्कारमा नगद १५ हजार ५ सय पचपन्न सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीले ८ हजार नगद उच्च गोलकर्ता, उत्कृष्ट प्लेमेकर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट गोल रक्षकले जनही ५ हजार प्राप्त गर्नेछन । अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।
