
पोखरा स्पोर्ट्स । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोर्ट्स मिट अन्तर्गत तेस्रो दिनका खेलहरु जारी रहेका छन् ।

प्रतियोगिताको तेस्रो दिन कक्षा ११–१२ (प्लस टु) छात्र भलिबलतर्फ क्वार्टरफाइनलको समिकरण पुरा भएको भलिबल छात्रतर्फका संयोजक नविन बरालले जनाएका छन् । शनिबार सम्पन्न खेलमा पोखरा युनाइटेडले दुई खेल जितेको छ । पोखरा युनाइटेडले जेसिएलाई २–० र लिटल फ्ल्वारलाई २–० को सोझो सेटमा पराजित गरेको हो ।
त्यस्तै सम्पन्न प्रिक्वार्टरतर्फको खेलमा सवलाइमलाई २–१ को सेटले, युनिभर्सले शिसुनिकेतनलाई २–० ले, विद्या निकेतनले नेशनल इन्भेन्टिभलाई २–०, बाल प्रभातले टप्सलाई २–१ ले, सोसल पब्लिकले मदरल्याण्डलाई २–१ ले, गुरूकुलले सिर्जनालाई २–० ले, लिटल फ्ल्वारले पिकेजीलाई २–० ले तथा न्यूग्यालेक्सीले कास्की मोर्डनाइज्डलाई २–० को सोझो सेटमा पराजित गरी क्वार्टरफाइनलमा स्थान पक्का गरेका छन् ।
त्यसै गरी पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा जारी कक्षा ११–१२ छात्रा भलिबलतर्फ शनिबार ८ खेल सम्पन्न भएको संयोजक टेकनाथ पौडेलले जानकारी दिए । प्रतियोगितामा प्रतिभा र न्यूग्यालेक्सी आफ्ना दुई–दुई खेल जित्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन् । न्यू ग्यालेक्सीले बिएमजीलाई २५–१६, २१–२५, २५–२० ले र पोखरा युनाइटेडलाई २६–२४, २५–१८, २५–२३ ले पराजित गर्दा प्रतिभाले न्यू मोडललाई २५–७ र २५–० ले तथा सिर्जनालाई २५–२३ र २५–१० ले पराजित गरेको छ ।
त्यस्तै छात्रा भलिबलको जारी प्रतिस्पर्धामा त्रिवेणीले बाल प्रभातलाई २५–९, २५–१४ ले, पोखरा आदर्शले केएमएलाई २५–१८, २५–७ ले, गुरूकुलले केफलाई २५–१७, २७–२५ ले, टप्सले माउन्ट अन्नपूर्णलाई २५–२३, २५–८ ले पराजित गरेका छन् ।
प्रतियोगिताको तेस्रो दिन छात्रा ११–१२ कक्षातर्फ बास्केटबलका खेलहरु सुरू भएका छन् । रामघाट पुन समाजको कोर्टमा सम्पन्न खेलमा मदरल्याण्डले जुनियर सिटिजनलाई २२–१३ ले, फिसटेलले त्रिवेणीलाई ३४–० ले, कास्की मोर्डनाइज्डले गुरुकुललाई २०–७ ले, पोखरा आदर्शले डायमण्डलाई १२–३ ले, न्यू ग्यालेक्सीले हिल पोइन्टलाई ३१–१३ र माउन्ट अन्नपूर्णले पश्चिमाञ्चललाई २६–१० को स्कोरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको संयोजक रामचन्द्र पौडेलले जानकारी दिएका छन् ।
यसै गरी छात्र बास्केटबल प्लस टुतर्फ प्रिक्वार्टरका खेलहरु सम्पन्न भएका छन् । तेस्रो दिन कुल १० खेल सम्पन्न भएको छात्र बास्केटबल संयोजक खिम गुरूङले जनाएका छन् । शनिबार सम्पन्न खेलमा प्रतिभाले लिटल एन्जल्सलाई ५९–११ ले, जेसिएले शिसुनिकेतनलाई ४४–१६ ले, केएमएले मदरल्याण्डलाई ३८–१९ ले, गुरूकुलले पश्चिमाञ्चललाई ४०–१४ ले, मनकामनाले सिर्जनालाई ३७–१६ ले, हिल पोइन्टले बालकल्याणलाई ४३–३३ ले, टप्सले मेरीगोल्डलाई २६–१३ ले र न्यूग्यालेक्सीले फिसटेललाई ३३–२४ को स्कोरले पराजित गरी क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।
यसै गरी कक्षा ११–१२ अन्तर्गत ब्याडमिन्टन छात्र–छात्रा सिंगल्सतर्फ क्वार्टरफाइनलका समिकरण पुरा हुँदा डबल्सतर्फ भने दोस्रो चरणका खेलहरु जारी रहेका छन् । विश्वविद्यालय छात्र–छात्रा सिंगल्स–डबल्सतर्फ क्वार्टरफाइनलमा समिकरण पुरा भएका छन् भने सिंगल्सतर्फ पहिलो चरणका खेलहरु जारी रहेको संयोजक पुरन कुंवरले जानकारी दिए ।
यस्तै जारी टेबुल टेनिस कक्षा ११–१२ प्लस टु छात्र–छात्रा सिंगल्सका क्वार्टरफाइनलका खेलहरु सम्पन्न भएका छन् भने छात्र–छात्रा डबल्सतर्फ सेमीफाइनल समिकरण पुरा भएको संयोजक आमोद कोइरालाले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत सम्पन्न विश्वविद्यालय छात्र टेबुल टेनिस डबल्स छात्रतर्फको सेमीफाइनलमा म्याकले लिंकन तथा पिसिएमले पेक विरुद्ध तथा छात्रातर्फ इन्फरमेटिक्सले ला ग्राण्डीसँग तथा पिसिएमले पेकको सामना गर्नेछन् । टेबुल टेनिस छात्र–छात्राका क्वार्टरफाइनलका खेलहरु जारी रहेका छन् ।
१८ औं संस्करणको हिसान स्पोर्टस मिट यहि पौष ७ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ । स्पोर्टस मिट अन्तर्गत प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडीहरु विभिन्न चार खेलका छुट्टा–छुट्टै इभेन्टमा प्रतिष्पर्धा गदैंछन् । जस अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा भइरहेका छन् । प्रतियोगितामा कक्षा ११–१२ छात्र भलिबलमा ३८ र छात्रातर्फ २४ टिमहरुको सहभागिता रहेको छ ।
त्यस्तै छात्र बास्केटबलमा सर्वाधिक ४६ तथा छात्रातर्फ २० टिम, टेवुल टेनिसतर्फ छात्र–छात्रा सिंगल्स, डबल्सतर्फ गरी २ सय ५० जना तथा व्याडमिन्टन छात्र–छात्रातर्फ सिंगल्स र डब्सल्समा गरी कुल २ सय ५८ जनाको सहभागिता रहेको हिसान कास्कीका सचिव किरण सापकोटाले जानकारी दिएका छन् । त्यस्तै, विश्वविद्यालयतर्फ बास्केटबल, टेबुल टेनिस र ब्याडमिन्टनमा सहभागिता जनाएका छन् ।
१५औं देखि १७औं संस्करणको हिसान स्पोर्टस मिटको उपाधि प्रतिभा माविले लगातार तीन पटक जित्दै शिल्ड कब्जा गरेको थियो । हाल सम्म ग्लोबल कलेजियट माविले लगातार तीन पटक र न्यू ग्यालेक्सीले लगातार चार पटक जितेर रनिङ्ग शिल्डमा कब्जा गरेका छन् ।
निजी शिक्षालयहरूको साझा संस्थाको रुपमा रहेको हिसान कास्कीअन्तर्गत कास्कीमा आवद्ध ८० शिक्षालयहरुमा ४० हजार भन्दा बढी विद्यार्थी र ५ हजार बढी शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् । हिसान कास्की शाखामा प्याब्सन, एनप्याब्सन, युनिप्स लगायतका संस्थामा आवद्ध विद्यालयहरुको आवद्धता रहेको छ ।
